
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ठगबहादुर केसी घुसकाण्डमा पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतवार साँझ बुटवलस्थित निवासबाट हतकडी लगाएर नियन्त्रणमा लिएको हो । सुन कारोबारसम्बन्धी मुद्दामा पैसा असुली गरेपछि उनी अनुसन्धानको दायरामा आएका हुन् ।
बरामद भएको सुन मुद्दा प्रक्रियामा नलगी आफैँले राखेको र सुन बरामद भएको व्यक्तिबाट थप पैसा असुली गरेको सुईको पाएपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो । उनको निवासबाट २५ लाख रूपैयाँ नगद र ३५ तोला सुन बरामद भएको छ ।
‘२५ लाख पाए सुन फिर्ता गर्ने सहमति भएको रहेछ, उनले सुन फिर्ता गर्न नपाउँदै नियन्त्रणमा परे’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने । १३ महिना अघि इलाका प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न आएका डिएसपी केसी शुरुदेखि विवादमा पर्दै आएका थिए ।
गृहमन्त्री बालकृष्ण खाणनिकट भएकाले सत्ताको आडमा मनपरी गरेको र मनपरी गर्नेलाई छुट दिएको आरोप लाग्दै आएको थियो । डीएसपी केसीको आचरण र व्यवहारलाई लिएर स्वयं कांग्रेसको एउटा पंक्ति असन्तुष्ट थियो । उनले कांग्रेसभित्र गृहमन्त्री खाणका विरोधीहरूलाई छानी–छानी आतंकित बनाउने गरेको बताइन्छ ।
उनी केही दिन अघि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका थिए । उनी सोमवार रमाना लिएर जाँदै थिए । रमाना लिनुअघि नै उनी अनुसन्धान टोलीको नियन्त्रणमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एपी रविन्द्र रेग्मीले डीएसपी केसी पक्राउबारे बुझ्दै गरेको बताए । उनले अरु कुरा खुलाउन चाहेनन । ‘केन्द्रीय टोलीले नियन्त्रणमा लिएको हो, कुन विषयमा भन्ने जानकारी हुँदै जाला’, उनले भने ।
केसी पक्राउ सम्बन्धमा प्रहरी प्रमुख धिरजप्रताप सिंहले नै चासो लिएका छन् । उनले नै अनुसन्धानको लागि यहाँ प्रहरी टोली पठाएको स्रोतले बतायो ।