३१ असार २०८३, बुधबार

सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, हामी थप सशक्त हुन्छौं : शेखर कोइराला

सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, हामी थप सशक्त हुन्छौं : शेखर कोइराला
फाइल फोटो

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको बताएका छन् ।

कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि धारणा सार्वजनिक गर्दै नेता कोइरालाले भने, ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, हामी थप सशक्त हुन्छौं ।’

कोइरालाले नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई बधाई र शुभकामना समेत दिएका छन् । ‘संसदबाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ । संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन ? हाम्रो अगाडि यो प्रश्न गम्भीर रूपमा अगाडि आएको छ । हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सबै आम नेपाली माझ दिनुपर्छ भन्ने मान्यता म राख्छु,’ कोइरालाले भनेका छन् ।

कांग्रेसले ठूलो मूल्य चुकाएर ५ दलीय गठबन्धनसँग स्थानीय, प्रदेश र संघको निर्वाचनमा चुनावी तालमेल गरेको स्मरण गराउँदै कोइरालाले राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरकधार भएका दलहरू बीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्त्वहीन ठानिएको समेत बताए ।

‘गठबन्धनको प्रकरणमा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको हामी बिर्सन सक्दैनौं । विगत १ वर्षदेखि अझ खासगरी कांग्रेसको चौधौं महाधिवेशनअघि र पछि नेपाली कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन् घटना घट्यो । यो निःसन्देह नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो थिएन र हामी कांग्रेसको नेतृत्वमा बस्नेले यसबाट शिक्षा लिन सक्नुपर्छ,’ उनले भने, ‘कांग्रेस संसदको सबैभन्दा ठूलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको छ । गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदांगिएको छ । हामीबीच रहेको सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ । अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, ऊर्जावान र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन ।’

नेता कोइरालाले कांग्रेसका नेता, कार्यकर्तालाई निराश नहुन पनि आग्रह गरे । ‘साथीहरूमा तत्कालको लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वाभाविक होइन । साथीहरू निराश हुनुपर्ने कुनै कारण छैन । हामी निरन्तर संवाद र सम्पर्कमा रहँदै तपाईंहरूको घरआँगनमा आउने छौं । किन यस्तो परिस्थिति निर्माण भयो भनी हामी नेतृत्व समक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्ने नै छौं,’ उनले भने, ‘कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्दैछ । कांग्रेस केन्द्रदेखि प्रदेश सबैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ । यसबाट हामी निराश हुने छैनौं । यहाँबाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनताबीच जानेछौं । पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौं । जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुट्नुको हामीसँग अब विकल्प छैन ।’

salt training

कमेन्ट गर्नुहोस्