१६ असार २०८३, मंगलबार

महान्यायाधिवक्ता डा पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

महान्यायाधिवक्ता डा पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज (बिहीवार) आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा पोखरेललाई शपथ गराए । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले डा.पोखरेललाई बुधवार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । 

महान्यायाधिवक्ता डा पोखरेलको जन्म २०३० चैत २९ गते झिमरुक गाउँपालिका–४ प्यूठानमा भएको थियो । उनी २५ वर्षदेखि निरन्तर कानून व्यवसायमा संलग्न छन् । उनले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाट कानूनमा विद्यावारिधि गरेका छन् । 

महान्यायाधिवक्ताले सन् १९९९ मा दिल्ली विश्वविद्यालयबाट तुलनात्मक कानुनमा स्नातकोत्तर र द हेग नेदरल्याण्ड्सबाट २००७ मा सामाजिक अध्ययन संस्थानबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्र र विकासमा स्नातकोत्तर गरेका थिए । उनले वातावरणीय कानूनमा स्नातक गरेका छन् । 

कानूनी अभ्यास र परामर्शका अतिरिक्त डा पोखरेलले कानुनी अनुसन्धान, कानुनी मस्यौदा र तालिममा संलग्न छन् । उनले संविधानसभाको प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँट समितिमा कानुनविद्का रूपमा काम गरेका थिए । 

डा पोखरेलले व्यवस्थापिका–संसद्को पूर्वसभामुख ओनसरी घर्तीको कानूनी सल्लाहकारको रुपमा काम गरेका थिए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा कानुनी परामर्श सेवा प्रदान गर्दै आएका छन् । 

राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा कानुनको फरक क्षेत्रमा लेखहरू प्रकाशित गर्दै आएका पोखरेल जलस्रोत, वातावरण, जलविद्युत्, वाणिज्य कानून, राजनीतिक अर्थव्यवस्था तथा विकासका केन्द्रित रही काम गरिरहेका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्