
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीका सचिवालय सदस्य सूर्य किरणका अनुसार दुई नेताबीच अहिले भेट जारी छ ।
सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुगेको उनले बताए । भेटका क्रममा समसामयिक राजनीतिक विषय, मन्त्रीपरिषद विस्तार तथा प्रदेश सरकार गठनका विषयमा समेत छलफल हुनसक्ने बताइएको छ । हिजो विहीबार बालुवाटारमा बसेको सत्ता साझेदार दलका नेताहरुको बैठकले उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो । त्यसको संयोजक अध्यक्ष ओलीलाई बनाउने निर्णय गरेको थियो ।

सरकारको कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र बनाएको सरकारको भनाइ छ । पाँच दिनभित्र साझा न्यूनतम कार्यक्रम ल्याउने म्यान्डेट दिएको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साझा कार्यक्रमको मस्योदा गर्ने समितिको जिम्मेवारी दिएको थियो ।