
नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने या नगर्ने निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ ।
एसले वामपन्थी दलहरूबीच एकता र सहकार्यका लागि गृहकार्य गर्ने अधिकार पनि सचिवालयलाई दिएको छ ।
सोमवार र मंगलवार बसेको पोलिटब्युरो बैठकले प्रचण्ड सरकारलाई समर्थन गर्ने/नगर्ने निर्णय लिन सचिवालयलाई जिम्मा दिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘सरकारलाई समर्थन गर्ने या सहभागी हुने/नहुनेबारे व्यापक छलफल भयो । देश र जनताको हितमा सरकारले के कार्यक्रम ल्याउन सक्छ ? अझै धेरै बुझ्नुपर्ने भएकाले सरकारलाई समर्थन गर्ने/नगर्ने निर्णयको अधिकार सचिवालयलाई प्रदान गरेको छ,’ खतिवडाले भने ।
नेकपा एसले वामपन्थी जनमत एकठाउँमा रहनुपर्ने भन्दै एकताका लागि गृहकार्य गर्ने निर्णय गरेको छ । ‘वामपन्थीको बीचमा सहमति र एकता गर्ने कुरामा पार्टी प्रतिबद्ध रहने निर्णय भएको छ । यसको गृहकार्य गर्न सचिवालयलाई अनुमति दिने निर्णय भएको छ,’ खतिवडाले भने ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालले नेता कार्यकर्ताको सुझावका आधारमा प्रचण्ड सरकारलाई समर्थन गर्ने या नगर्ने निर्णय लिइने बताएका थिए ।