
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रदेखि प्रदेशसम्मै कांग्रेसको उपस्थिति यसपटक बलियो रहेको भन्दै सशक्त भएर प्रस्तुत हुने बताएका छन् ।
बुधवार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘संसदमा हाम्रो उपस्थिति बढेको छ । पहिलेको जस्तो एउटै दलको प्रचण्ड बहुमत नभएको अवस्था छ । यो अवस्थामा हाम्रो भूमिका बढेर जान्छ । किनकि यसबेला हामी केन्द्रदेखि प्रदेशसम्मै सबैभन्दा ठूलो दल पनि छौं ।’
प्रतिकूल अवस्थामा कांग्रेस नेतृत्वमा गठबन्धन बने पनि माओवादीले विश्वास तोडेको उनले बताए । ‘निर्वाचनमा सन्तोषजनक सफलता प्राप्त गर्यौं । निर्वाचनको बेला पनि गठबन्धन तोड्न नखोजिएको होइन तर हामीले बचायौं । विश्वासमा माओवादीहरू कायम रहन चाहनुभएन । विश्वासमा कायम नभएको अवस्थामा यो परिणाम आएको हो,’ महतले भने, ‘तर गठबन्धन तोडिनुमा सभापतिको भूमिका धेरै छ । पार्टीका अरु साथीको भूमिका कम छ भन्ने होइन । कांग्रेसको कार्यसम्पादन समितिले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने सर्वसम्मत निर्णय थियो । राष्ट्रपति र प्रधानमन्त्रीको दुवै पद छोड्नुहुँदैन, यो मान्य हुँदैन भन्ने थियो ।’
विश्वास गर्दा जसले विश्वास तोड्छ, त्यसमा नियन्त्रण नहुने हिसाबले पनि हेर्न उनले आग्रह गरे । गठबन्धन भत्किँदा कांग्रेसमा कुनै विवाद, आरोप–प्रत्यारोप नभएको जिकिर पनि उनले गरे ।
‘एक्लै जित्ने पार्टी बनाउँछौं’
गठबन्धन रहन्छ भन्ने आमआकांक्षा भएको अवस्थामा अनायास नहुँदा सबैथोक बिग्रिएको जस्तो देखिएको पनि उनले बताए । ‘गठबन्धन रहला भन्ने थियो तर अनायासै टुट्दा के भयो भनेर निराशा जस्तो ‘सेटब्याक’ जस्तो देखिए पनि ‘सेटब्याक’लाई अवसरमा परिणत गर्छौं,’ महतले भने, ‘भोलिका दिनमा एक्लै पनि जित्न सक्ने पार्टीका रूपमा कांग्रेसलाई रूपान्तरण गर्छौं । २२ गतेको बैठक २८ गतेलाई सारिएको छ । समीक्षा गरेर यसको आधारमा अगाडि बढ्छौं ।’
केन्द्रीय कार्यसमितिको बैठकपछि भ्रातृ र शुभेच्छुक संस्थाले पूर्णता पाउने र यसको लागि पार्टीमा सबैसँग सरसल्लाह हुने पनि उनले बताए ।