
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसदबाट विश्वासको मत लिएपछि टीकापुर घटनामा आरोपित भई जेल जीवन विताइरहेका रेशमलाल चौधरीसहितका राजबन्दीको रिहाईका लागि पहल लिने आश्वासन दिएका छन् । थारु कल्याणकारिणी सभा (थाकस) का पदाधिकारी तथा थारु आयोगका पदाधिकारीसँग शुक्रबार बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री दाहालले सो अश्वासन दिएका हुन् ।
थारु समुदायमाथि अन्याय भएको बताउँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले आफू थारु समुदायको हकहितको पक्षमा रहेको बताएको थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बताए । जनयुद्धताका पनि थारु समुदायको ठूलो सहयोग रहेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले टीकापुर घटना राजनीतिक घटना भएकाले त्यसलाई त्यही रुपमा समाधान गर्ने बताए ।
सोहीअनुसार माघ १ गते टुँडीखेलमा आयोजना हुने माघी महोत्सव २०७९ को उदघाटन पनि प्रधानमन्त्री दाहालले गर्नेभएका छन् । थाकसका महामन्त्री चैधरीले प्रधानमन्त्रीलाई प्रमुख अतिथिको निमन्त्रणा हस्तान्तरण गरेको बताए । प्रधानमन्त्री दाहालले आफू महोत्सवमा सहभागी हुने प्रतिवद्धता गरेको महामन्त्री चौधरीले बताए । त्यस अवसरमा माओवादी केन्द्रका थारु नेताहरु, आयोगका पदाधिकारी तथा उपस्थित सहभागीले प्रधानमन्त्री दाहाललाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।