२४ जेठ २०८३, आइतबार
व्यक्तित्व

पहिचानको पहिरन !

जो संसदमा सधैं देखिनेछन् कछौटी र पौवाको टकटक आवाजमा
पुस २३, २०७९
पहिचानको पहिरन !

लुम्बिनी प्रदेश सभामा युवा सांसदको उपस्थिति बलियो छ । ८७ सदस्यीय प्रदेशसभामा २६ सांसद ४० वर्षमुनिका छन् ।

तिनैमध्ये पर्छन् बर्दियाका धर्मबहादुर चौधरी र राजकुमार चौधरी । नागरिक उन्मुक्ति पार्टी बर्दिया २(२) बाट निर्वाचित ३६ वर्षीय धर्मबहादुर र बर्दिया १(२) बाट विजयी भएका ३१ वर्षीया राजकुमारले प्रदेश सभामा पहिलो दिन प्रवेश गर्दा सबैको ध्यान खिचे । 

थारू विद्रोहको रापतापबाट उदाएको उन्मुक्ति पार्टीका सांसदद्वय पद तथा गोपनियताको शपथ लिन प्रदेशसभा भवन दाङको राप्ती उपत्यका पुग्दा अन्यभन्दा रोचक र भिन्न देखिएका थिए । सुनिन र देखिन छाडेको थारू समुदायको पहिचानको पहिरन काठको चप्पल (थारु भाषामा काठको चप्पललाई पौवा भनिन्छ), कछौटी, थारू टोपी, भोटो अनि गलब्दीसहित हातमा रेकर्ड फाइल बोकेर उनीहरू देखिएका थिए । थारू समुदायको मौलिक पहिचान झल्किने भेषभूषामा सजिएर संसद छिर्दा उनीहरू आकर्षणको केन्द्र नै बने, उनीहरूसँग धेरैले फोटो खिचाए ।

उन्मुक्तिका ३ सांसदले मातृभाषा थारूमा शपथ लिए । उन्मुक्तिकी सांसद निर्मलादेवी थारूले पनि मातृभाषामै शपथ लिएकी थिइन् । 

‘हाम्रो पहिचानकै लागि स्थापना गरिएको पार्टी हो,’ राजकुमारले लोकान्तरसँग भने, ‘हाम्रो पहिरन ‘ठेट’ थारू पहिरन हो । म संसदमा सधैं यहीँ पोशाकमा देखिनेछु । म संसदमा बोल्दा यहीँ पोशाक लगाएर बोल्नेछु । त्यसका साथै संसदमा मेरो सम्बोधन पनि सधैं थारू भाषामै हुनेछ । किनकि हाम्रो क्षेत्रका जनताले थारू भाषा बुझ्छन् ।’ हरेक मातृभाषालाई राष्ट्रभाषा संविधानले नै मानेको छ ।

सांसदहरूले लगाएका कपडा अहिले दुर्लभ भइसकेका छन् । थारूको कला संस्कृति बचाउन सधैं संसदमा आवाज उठाउने राजकुमार बताउँछन् । आफूले लगाएको पहिरन विशुद्ध थारू पहिरन भएको बताउँदै पार्टी संसदीय दलको प्रमुख सचेतक समेत रहेका राजकुमारले जनतासमक्ष आफूले गरेका वाचा नभुल्ने बताए । 

बारबर्दिया नगरपालिका–१० का उनी राजनीतिमा लागेको ४ महिनामै सांसद बन्ने युवा हुन् । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा ५ वर्ष बिताएर गत असारमा उनी घर फर्किएका थिए । 

‘यसअघि म कुनै पनि पार्टीमा थिइनँ । विदेशबाट फर्किएर नागरिक उन्मुक्ति पार्टीमा जोडिए । पार्टीमा जोडिएको छोटो समयमै सांसद भएँ,’ राजकुमार भन्छन्, ‘हाम्रो मुख्य माग टिकापुर घटनाका दर्जनभन्दा बढी राजबन्दीहरूलाई रिहाइ गर्नुपर्ने हो । यो आवाज हामी प्रदेश सभामा पनि सशक्त रूपमा उठाउँछौं । हाम्रो आवाज सुनुवाइ नभए आवश्यक परे संसद अवरुद्ध गर्न पनि पछि पर्ने छैनौं ।’

तराईका भूमिपुत्र थारू समुदायको मौलिक पहिचान र संरक्षणका लागि आफ्नै पहिरनमा प्रदेश सभामा ‘इन्ट्री’ गरिएको धर्मबहादुर बताउँछन् । ‘पहिरन पहिचानसँग र मातृ अधिकारसँग जोडिन्छ,’ उनी भन्छन्, ‘जाति विशेषको पहिचान पहिरनमार्फत जोगाउनुपर्नेछ । मौलिक पहिरन आफैंमा सुन्दर पनि छ । आफ््नो संस्कृति अँगालेपछि नै व्यक्तिको पहिचान स्पष्ट बन्छ ।’

समयको विकाससँगै संस्कृति र पहिचान हराउँदै/मासिँदै गएका छन् । पहिचानलाई जीवन्त र समृद्ध बनाउन जोडदार आवाज उठाउँदै जाने धर्मको भनाइ छ । 

पहिचानको राजनीतिले जहिले पनि उत्पीडित समुदाय, जो पहिचान गुमाउन बाध्य भएको हुन्छ, उसले राज्यमा आफ्नो अपनत्व खोज्छ, त्यसैले यो जातीय होइन, सहअस्तित्वको राजनीति रहेको धर्मले दाबी गरे ।

धर्मबहादुरको संसद यात्रा पनि झनै रोचक छ । उनी गत भदौमा मात्र नागरिक उनमुक्ति पार्टीमा जोडिएका हुन् । ‘भदौ २४ गते पार्टी प्रवेश गरें, कार्तिक १४ गते टिकट पाएँ, मंसिरको निर्वाचनबाट विजयी भएँ,’ धर्मबहादुरले लोकान्तरसँग भने, ‘हाम्रो मुख्य माग नै पहिचान हो । पहिचान भनेको भाषा, कला, संस्कृति र पहिरन सबै जोडिन्छ । नेपालका २५ लाख थारूको पहिचान स्थापित गर्नुछ ।’ 

आफूहरूले उठाएका पहिचानकै मुद्दाका कारण छोटो समयमै पार्टीप्रति जनलहर उर्लिएको धर्मको बुझाइ छ । ‘नागरिकले विकल्प खोजेका थिए,’ उनी भन्छन्, ‘त्यसको सेन्टिमेट हामीसँग आयो । युवाहरू हाम्रो पार्टीमा जोडिने क्रम अझै जारी छ ।’

धर्मबहादुर प्रदेशतर्फ देशभरबाट सबैभन्दा बढी दोब्बर मतान्तरले विजयी हुने नेता हुन् । उनले २० हजारभन्दा बढी मतले विजयी हुँदा उनका प्रतिस्पर्धीको मत १० हजार थियो । 

धर्मबहादुरले विगत लामो समयदेखि सुर्खेतको सुर्खेत मोडल कलेजमा स्नातकोत्तरसम्म अंग्रेजी विषयमा प्राध्यापन गर्थे । उनी पूर्णरूपमा प्राध्यापन पेशा छाडेर भदौदेखि राजनीतिमा लागे । अहिले प्रदेशसभा सदस्य भएपछि अब उनले दाङमै फेरि प्राध्यापन पेशामा जोडिन खोजेका छन् ।

उनी भन्छन्, ‘राजनीतिलाई पूर्ण रूपमा पेशा बनाउन हुँदैन । हाम्रो मुख्य मुद्दा न्यायको लडाइँ हो । संसदसँग यहीँ दाङमा डेरा लिएर ‘पार्ट टाइम’ पढाउने सोचमा छु ।’ थारूको उद्गम थलो दाङ हो । थारुका पूर्खाहरू दाङबाट कैलाली पुगे, कैलालीलाई पहिला मनहरा भनिथ्यो । त्यसपछि थारूहरू बर्दियामा पनि बसाइँ गर्न थाले । बर्दियालाई पहिला बुरना भनिथ्यो ।

दाङ, कैलाली, बर्दिया हुँदै अहिले थारु जाति देशका धेरैजसो जिल्लामा बसोबास गरिरहेका राजकुमारको भनाइ छ । महामानव गौतमबुद्धको जन्मभूमिमा शान्ति र न्याय दिन सक्नुपर्ने नागरिक उन्मुक्तिले बताउँदै आएको छ । 

salt training

कमेन्ट गर्नुहोस्