
सरकारले पहिलो पटक यस वर्षदेखि आगामी माघ १ गतेलाई ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको छ ।
नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी उक्त दिवस मनाउन लागिएको हो ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले माघे सङ्क्रान्ति समाज, संस्कृति, परम्परा, भूगोल र सबै जातजातिलाई जोड्ने तथा विविध परिकार खाने दिन भएकाले त्यसलाई दृष्टिगत गरी यस वर्षदेखि निरन्तरुपमा माघ १ गते यो दिवस मनाउन लागिएको बताए।
'मुलुकका सबै जातजातिले यो वा त्योरुपमा मनाउने साझा सांस्कृतिक पर्व माघे सङ्क्रान्ति हो । माघे सङ्क्रान्तिका दिन नेपाली समाजले जेजस्ता कुरा उपभोग गर्छ ती सबै कृषि जैविक विविधतासँग जोडिएका छन्', उनले भने ।
माघे सङ्क्रान्तिमा जातीय परम्पराअनुसार नियमित खानाबाहेक खित्रो, सेलरोटी, शखरखण्ड, तरुल, पीडालु, फुलौरा, तिलौरा, घ्यू, चाकु, माछा, मासु, घुँगी, अण्डालगायत परिकार बनाएर खाने परम्परा छ ।
कृषि जैविक विविधता खाद्य तथा पोषण सुरक्षा, गरिब तथा सिमान्तकृत समुदायको जीविकोपार्जन एवं स्वच्छ वातावरणको मुख्य आधार भएको उल्लेख गर्दै सरकारले बजेट वक्तव्यमार्फत २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको छ ।
जैविक विविधतामा नेपाल धनी मानिए पनि पछिल्लो समय बासस्थान विनाश, आधुनिक खेतीका नाममा नकारात्मक अभ्यास र अन्य मानव सीर्जितकारणले समग्र जैविक विविधता संरक्षणमा ह्रास हुँदै आएको छ ।
रैथाने कृषि जैविक विविधता बाली, घाँसेवाली, पशुपक्षी, जलीय, किरा र सूक्ष्म जीवाणुजन्यमध्ये करिब ४० प्रतिशत लोप भइसकेको अनुमान गरिएको छ । कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा स्थानीय समुदायको अहम् भूमिका एवं जिम्मेवारी रहिआएको छ ।
कृषि जैविक विविधताको अभियान भान्साबाट सुरु होस् भन्नाका खातिर खानाको विविधतालाई सांस्कृतिसँग जोडेर माघे सङ्क्रान्तिलाई विविधता दिवसकारुपमा मनाउने निर्णय भएको बाली विकास तथा कृषि जैविक विविधा संरक्षण केन्द्रका निर्देशक रामकृष्ण श्रेष्ठले बताए।
केन्द्र, प्रदेश र पालिकाबीचको समन्वयमा औपचारिक तथा अनौपचारिकरुपमा खाद्य परिकार मेला, अन्तर्क्रिया, संरक्षणमा योगदान पुर्याउनेलाई पुरस्कृत गरी मनाइनेछ ।
कृषि जैविक विविधताको महत्व, मूल प्रवाहीकरण, संरक्षणका लागि विधि र पद्धतिको विकास गर्नु दिवसको मुख्य उद्देश्य हो ।
यसका लागि प्रचारप्रसार, सामग्री प्रकाशन र वितरण, महत्व उजागर, उपलब्धिबारे जानकारी तथा संरक्षणका लागि प्रेरित गर्ने चेतनामूलक कार्यक्रम गरिने केन्द्रले जनाएको छ ।