
अपहरण तथा शरीर बन्धक गरी फिरौती लिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जना पाकिस्तानी नागरिकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-४ बस्ने पाकिस्तानी नागरिकहरू ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैन रहेका छन् ।
वैदेशिक रोजगारीका लागि क्यानडा जान नेपालबाट सजिलो हुन्छ, सबै प्रक्रिया काठमाडौंमै पूरा गर्नुपर्छ भनी एक जना पाकिस्तानी नागरिकलाई भिजिट भिसामा नेपाल ल्याई बुढानिलकण्ठस्थित घरमा बन्धक बनाएर २५ लाख ६६ हजार ६ सय ९७ नेपाली रुपैयाँ फिरौती रकम लिने उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंसँगको समन्वयमा बुढानिलकण्ठ नगरपालिका-४ बाट पक्राउ गरेको हो ।
पाकिस्तानमा रहेका पीडितका भाइलाई मेरो क्यानडाको लागि फलाइट छ, ३० घण्टा मोबाइल अफ हुन्छ, सम्पर्क हुँदैन भन्ने म्यासेज पठाउन लगाएर ३० घण्टापछि पुनः क्यानडा पुगेँ, इमिग्रेसनमा रोकेको छ, पैसा दिएपछि मात्र प्रवेश दिन्छ भन्ने म्यासेज पठाउन लगाएपछि पीडितका भाइले उक्त नेपाली रुपैयाँ बुझाएपश्चात पीडितलाई मंगलबार राति सिनामंगलस्थित सडकमा पाकिस्तान फर्किनु भनी छाडेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरूलाई अपहरण गर्न नहुने र शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ ।