२२ असार २०८३, सोमबार

हेटौडाका थारुले मनाए माघी

हेटौडाका थारुले मनाए माघी

थारु समुदायको महान् पर्व माघीको अवसरमा हेटौंडामा आइतबार महोत्सव आयोजना गरी धुमधामका साथ मनाइएको छ । पाँचौ थारु माघी महोत्सवमा झाँकी, नाचगान, शुभकामना आदनप्रदानसँगै थारुको परिकारहरु र गहनाको स्टलहरु राखेर भव्य रुपमा मनाइको आयोजकले जनाएको छ ।

महोत्सवमा घुंगीको बिशेष परिकार, सुंगुरको मासु, सिध्राको चटनी, माछा, अनदीको भात, तरुल, लाइ,  तिल र भुजाको लड्डुलगायतको खानेकुरा स्टलहरुमा बिक्रीका लागि राखिएका थिए । महोत्सवमा थारु लौरी नृत्य, थारु युवक–युवती सामुहिक नृत्य, महिला र विभिन्न समुहले थारु, नेपाली र हिन्दी गीत गायन तथा नृत्यसँगै थारुको कला, पोशाक, गहना, घरेलु सामग्रीहरु प्रस्तुत गरिएका थिए ।

‘थारु संस्कृतिको संरक्षण, सम्वर्धन र प्रवर्धनमा हाम्रो अभियान, न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन’ नाराका साथ माघी महोत्सव मनाइएको हो । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य तथा पाँचौ थारु माघी महोत्सव मूल आयोजक समितिका संयोजक एवम् थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति हरिलाल चौधरीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य जानकी चौधरी र नेपाल आदिवासी जनजाती महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेशका बरिष्ठ उपाध्यक्ष होमबहादुर राना मगर, किराँत राई याःयोख्खा मकवानपुरका अध्यक्ष केबी राई, नेपाल तामाङ घेदुङ्गका मकवानपुरका सचिव आत्माराम मोक्तान, दनुवार जागरण समिति मकवानपुरका सचिव कृष्णबहादुर राई दनुवार, थारु कल्याणकारिणी सभा मकवानपुरका संस्थापक सचिव एवं नेपाल थारु संघ समाजवादीका केन्द्रीय अध्यक्ष शिवनाथ चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 

माघी पर्व आदिवासी थारु समुदायको सबैभन्दा ठूलो चाड र नयाँ वर्ष हो । यस पर्वमा थारुहरु आपसमा रमाइलो गर्ने, साथीभाइबीच भातृत्व प्रेम तथा आदर सम्मान गर्ने गर्छन् । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने हुनाले यस पर्वलाई थारुले नयाँ वर्षको रुपमा मनाउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्