२८ जेठ २०८३, बिहीबार

महोत्सवले बढायो व्यापार

महोत्सवले बढायो व्यापार

नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहेकी छन् ।

विक्रम संवत् २०७२ सालदेखि विदुर नगरपालिका–९ कोलोनीमा उद्योग सञ्चालन गर्दै आइरहेकी उनले जिल्लामा हुने हरेक मेला महोत्सवमा बिक्री कक्ष लिन्छिन् । महोत्सवबाट हुने आम्दानीले उद्योग सञ्चालन गर्न थप हौसला मिल्ने गरेको तामाङ बताउँछिन् ।

‘उद्योग सञ्चालनमा आएको शुरूआती चरणमा मासिक १ लाखदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको थियो । अहिले ५० हजार आम्दानी हुन मुस्किल छ,’ उनले भनिन्, ‘जिल्लामा सञ्चालित महोत्सवले मेरो उद्योगलाई ठूलो राहत पुग्ने गरेको छ । महोत्सबबाट ढाकाको झोलाले राम्रो बजार पाएर उत्साहित हुन्थे । महोत्सवको समयमा रातभरि झोला बुनेको याद सम्झदा पनि आनन्द लाग्छ ।’

कोलोनीमा नै रजनी थापाले कुसन तथा गुडिया बनाउने उद्योग सञ्चालन गर्दै आइराखेकी छन् । उत्पादित कुसन तथा गुडियाले उद्योगबाटै बजार पाइरहेको छ । उद्योग सञ्चालन गर्नुको साथै उहाँ नै तालिम दिनलाई गाउँ बस्तीसम्म पुग्छिन् । रजनी हस्तकला उद्योगबाट उत्पादित कुसन गुडिया हो । 

उनले भनिन्, ‘जिल्लामा हुने सबै मेला महोत्सवमा मैले बनाएको कुसन तथा गुडिया प्रदर्शन र बिक्रीको लागि राख्ने गरेकी छु । व्यापार चित्त बुझ्दो नै हुन्छ ।’ मेरो उद्योगमा उत्पादित सामग्रीलाई बजारको खासै समस्या छैन । सामग्री उत्पादन गर्न मेला महोत्सवले उत्साह/जागर थपिदिन्छ ।

विदुर नगरपालिका–१२ मा ‘ज्ञानु क्याण्डी उद्योग’ सञ्चालन भइरहेको छ । विक्रम संवत् २०७२ सालमा लप्सीको परिकार बनाउने तालिम लिएर उद्योग सञ्चालन गरेकी ज्ञानु तामाङलाई महोत्सवले नै व्यवसायीको रूपमा परिचित गराएको हो । ‘व्यवसाय सञ्चालन गरेको शुरूवाती वर्षमा लगानी उठ्न मुस्किल हुन्थ्यो । बजारको समस्या थियो । बजार चिन्ने मौका मलाई महोत्सवले नै दिएको हो,’ उनले भनिन्, ‘साना ठूला केही कार्यक्रम हुँदा पनि प्रदर्शनीमा राख्नुपर्‍यो तपाईंको उद्योगको उत्पादन भनेर जानकारी आउने गरेको छ । हाल बजारको खासै समस्या छैन । मागअनुसार उत्पादन गर्न भने मुस्किल छ ।’ – भगवती लामा/रासस

salt training

कमेन्ट गर्नुहोस्