२९ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

राष्ट्रपति चुनावको रस्साकस्सी, अझैपनि प्रचण्डलाई फकाउने रणनीतिमा कांग्रेस

राष्ट्रपति चुनावको रस्साकस्सी, अझैपनि प्रचण्डलाई फकाउने रणनीतिमा कांग्रेस

आफ्नै कारणले केन्द्रदेखि प्रदेशसम्मका महत्त्वपूर्ण राजकीय पद गुमाएको नेपाली कांग्रेस अझैपनि राष्ट्रपति पद प्राप्त गर्न सकिन्छ कि भनेर लागिपरेको छ । माघ २८ भित्र हुनुपर्ने राष्ट्रपतिको निर्वाचनका लागि कांग्रेसले आफ्नो पक्षमा लबिङ गर्दै आएको छ । 

सत्ता साझेदार दलभित्र एमालेले लिने तय भएको राष्ट्रपति पद फुत्काउन कांग्रेसले प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फकाउँदै आएपनि कांग्रेसलाई सहज भने देखिँदैन । 
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट अगाडि सारिने राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति कायम हुने अभिव्यक्ति दिइसकेका छन् । एमालेले राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति सत्ता साझेदार दलभित्र भएको उनको भनाइ छ ।  ‘राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । सत्ता साझेदार दलभित्रको सहमति त्यही हो । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ’, अध्यक्ष ओलीको भनाइ छ । 

तर, कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत सभामुख र उपसभामुखमा एमाले अध्यक्ष केपी ओलीको तजबिजी चलेपनि राष्ट्रपति चुनावमा प्रधानमन्त्री प्रचण्डको लागि परीक्षाको घडी भएको बताउँछन् । 
ओली समर्थितहरूले एकपछि अर्को गर्दै जितेपछि संविधान रक्षाको प्रश्न उठेको समेत उनले शनिबार उपसभामुखको निर्वाचनपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भनेका थिए । 

‘प्रधानमन्त्रीले संविधान रक्षाको कुरा गरेपछि हामीले उहाँलाई विश्वासको मत दिएका हौँ । संविधान रक्षाका लागि भनेर हिजो उहाँले हामीसँग गठबन्धन गर्नुभएको थियो तर पुरानो गठबन्धन छाडेर जानुभयो’, महतले भने, ‘अहिलेको परिवेशमा केपी ओलीजीबाट संविधानमाथि झन् खतरा बढेको हामीले बुझेका छौँ ।  संविधानको पक्षमा उभिने कि नउभिने प्रधानमन्त्री सभामुख र उपसभामुख चुनावमा उहाँ उत्तीर्ण हुनुभएन । अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सबैभन्दा महत्त्वपूर्ण परीक्षणको घडीमा प्रधानमन्त्रीजी हुनुहुन्छ ।’

सभामुख, उपसभामुखको निर्वाचनमा आफ्नै उम्मेदवार खडा गरेको कांग्रेसले प्रधानमन्त्रीलाई भने विश्वासको मत दिएको थियो । कांग्रेसको नीति नै एमालेलाई रोक्ने र प्रचण्डलाई आफ्नो पक्षमा पार्ने देखिन्छ । 
यस्तो अवस्थामा प्रचण्ड पनि कांग्रेससँग आक्रामक देखिँदैनन् भने उनले सहमतिको आधारमा राष्ट्रपति चयन हुनेमा विश्वास व्यक्त गरेका छन् । 
उसो त माघ २८ भित्र गरिसक्नुपर्ने राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा कुनै चमत्कार हुने र परिस्थिति बदलिने आशमा कांग्रेस सभापति शेरबहादुर देउवा छन् । त्यसैका लागि धुम्बाराहीस्थित निवासमा उनले रणनीति बनाइरहेका छन् ।

तत्कालीन गठबन्धन एकाएक भत्किएपछि सत्ताविहीन भएको कांग्रेसले राष्ट्रपतिमा तीव्र लबिङ गरेसँगै उसका लागि सो पद प्राप्त गर्ने झिनो आशा भनेको प्रधानमन्त्री प्रचण्ड नै हन् । प्रचण्डले दायाँबायाँ गरेको खण्डमा उसलाई लागि सो पद प्राप्त हुने झिनो आशा हुन्छ । नत्रभने सभामुख र उपसभामुखको निर्वाचनको जस्तै नियति दोहोरिने निश्चित छ । समय अझै झण्डै तीन साता बाँकी रहेकाले राजनीतिले कस्तो मोड लिन्छ त्यसका लागि पर्खनुपर्ने नै हुन्छ । तर, कांग्रेसले त्यसै छाड्ने स्थिति देखिँदैन । 

राष्ट्रपतिले राजनीतिक संकटका क्रममा खेलेको भूमिका र सक्रियताका साथै सरकारलाई अप्ठ्यारोमा समेत पार्ने गरेको विगतको उदाहरणको पृष्ठिभूमिमा दलहरुले आफूअनुकुलका व्यक्तिलाई सो पदमा राख्न चाहेको प्रष्ट हुन्छ । राष्ट्रपति चुनावसम्बन्धी सो सामग्रीसहित ‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

प्रतिनिधिसभामा उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित भएकी छन्। शनिबार भएको निर्वाचनमा उनले १६६ मत पाइन् भने अर्की उम्मेदवार मुक्ताकुमारी यादवले ९७ मत पाइन्।
बैठकमा २६४ जना सांसद उपस्थित थिए। जहाँ मत दिन्न अर्थात् तटस्थमा एक जना सांसद बसेका थिए।   २ सय ७५ सदस्य रहेको प्रतिनिधि सभामा सभामुख जित्न १ सय ३८ मत आवश्यक पर्छ। यसअघि उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्ष र विपक्षमा सांसदहरुले आफ्नो धारणा राखेका थिए ।
००००
यसैगरी उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। 
उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ विपक्ष दलका सांसदहरूले समेत उठाएका इस्युहरूलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमानदार प्रयास रहने बताइन्।
००००
प्रतिनिधिसभा निर्वाचन २०७९ पछि संसदमा नयाँ सभामुखले पहिलो पटक सम्बोधन गरेका छन्। शनिबार उपसभामुख चयनका लागि भएको संसद् बैठकमा पहिलो पटक सभामुख भएका देवराज घिमिरेले सम्बोधन गरेका हुन् । 
००००
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई चाँडै पक्राउ गर्ने बताएका छन्।
मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा मधेश आन्दोलनका क्रममा प्रहरीको हत्यामा संगल्न भएको आरोप लगेका सांसद कोइरी महोत्तरीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
यसैगरी लामिछानेले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताएका छन्। 
शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गठबन्धनबाट उपप्रधानमन्त्रीले कुनै भार सरकारलाई नथपिने भएकाले राखेको भएपनि आफूले भने गठबन्धनबाट सहमति भएको खण्डमा उपप्रधानमन्त्री हटाए पनि तयार रहेको बताएका हुन्। उनले उपप्रधानमन्त्री सबैभन्दा पहिला आफ्नैबाट हटाउन शुरू गरे पनि तयार रहेको बताए ।
००००
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रियस्तरका खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण गर्ने नीति अघि सारेको छ ।

त्यसका लागि मन्त्रालयले राष्ट्रियस्तरका खोलाडीको शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि २०७९ निर्माण गरेको छ ।
००००
नेपाल कम्यनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धलाई बलियो बनाउन आग्रह गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा उनले त्यस्तो आग्रह गरेका हुन् ।
भेटवार्तामा एमाले अध्यक्ष ओलीले जसपाका अध्यक्ष यादवलाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।
००००
माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने भएको छ ।
फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक विश्लेषणका लागि पठाउन लागिएको हो ।
००००
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभा दिवसको अवसरमा प्रदेशवासी जनसमुदाय तथा देश विदेशमा रहेका दाजुभाई तथा दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन्। शनिबार प्रदेशको स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
००००
गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई शनिबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। मुख्य न्यायाधिवक्तामा नियुक्त भएका बराल पोखरा महानगरपालिका वडा नं २६ बरालडाँडा निवासी हुन् ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारी नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँबीच भेटवार्ता भएको छ।  अध्यक्ष बिजुबक्छेँको निवासमा राष्ट्रपति भण्डारी पुगेकी थिइन्। उनीहरूबीच करिब एकघण्टा कुराकानी भएको बिजुक्छेनिकट एक नेताले जानकारी दिए। 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगंगा आँखा केन्द्रलाई मानित विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिबद्धता जनाएका छन्। 
शनिबार तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा सन्दूक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धि चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन्।
००००
१ नम्बर प्रदेशका मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन गरिएको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८ उपधारा ९ बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्