
काठमाडौं, ४ भदौ - देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढी र पहिरोका कारण समस्यामा परेका आन्तरिक तथा बाह्य पर्यटकहरु सामान्य अवस्थामा फर्किएका छन् ।
तराईका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति पुर्याउने गरी आएको बाढी र पहाडी जिल्लामा आएको पहिरोको कारण पर्यटकहरु अप्ठ्यारो परेको हल्ला भए पनि तत्काल उद्धार भएपछि खासै समस्या नभएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार तराईका विभिन्न क्षेत्रमा आएको बाढी र पहिरोबाट प्रभावित झण्डै ७ सय भन्दाबढी
पर्यटकको सकुशल उद्धार गरिएको थियो । सबैभन्दा बढी चितवनको सौराहा र बर्दियाबाट पर्यटकलाई उद्धार गरिएको बोर्डले जनाएको छ । पर्यटकीय क्षेत्रमा क्षति भए पनि यकिन बिबरण भने संकलन भइसकेको छैन । बाढी पहिरोका कारण पर्यटक केन्द्रित होटल, रेष्टुरेन्ट समेत प्रभावित भएका छन् ।
सौराहा, बर्दिया लगायतका कतिपय स्थानमा होटलभित्रै बाढी पसेपछि होटलमै समेत पर्यटक डराए पनि जोखिमको अवस्था नआएको सरोकारवालाले बताएका छन् । बाढीले सौराहामा मात्र १ सय १० होटेल–रेस्टुरेन्टको क्षति पुगेको र करिब १५ करोड रुपैयाँबराबरको नोक्सानी भएको अनुमान व्यवसायीले गरेका छन् ।
सौराहा होटल रिर्सोट सञ्चालनमासौराहाका अधिकांश होटल, रेष्टुरेन्ट तथा रिसोर्टहरु सञ्चालनमा आइसकेका त्यहाँका व्यवसायीले बताएका छन् । यद्यपि तराई क्षेत्रका अन्य पर्यटकीय स्थलहरु भने सुरक्षित रहेका छन् । खासगरी पश्चिम तराईको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लुम्बिनी क्षेत्रमा खासै प्रभाव परेको छैन ।
यद्यपि प्रतिकूल मौसमका कारण सोलुखुम्बुको लुक्ला र विराटनगर विमानस्थलबाट हवाई उडान–अवतरण भने प्रभावित भएको छ । यसलाई पनि छिट्टै सञ्चालन ल्याउने तयारी भइरहेको छ । यद्यपि सडक तथा तराईका विमानस्थल समेत अवरुद्ध भएपछि पर्यटकहरु बिभिन्न स्थानमा रोकिएका थिए ।

क्षती भन्दा हल्ला धेरै भयोयद्यपि हल्ला गरिजस्तो ठूलो प्रभाव पर्यटकीय क्षेत्रमा नपरेकोे सरोकारवालाले बताएका छन् । अत्यधिक बाढीका कारण पर्यटकीय क्षेत्र चितवनको सौराहा र बर्दियामा केही प्रभाव परे पनि हल्ला गरिएजस्तो प्रभाव नपरेको उनिहरुको भनाई छ ।
नेपालका आएको पछिल्लो विनाशकारी भुकम्पको धङधङी नसकिदै आएको बाढीपछि समाचारका कारण अन्तर्राष्ट्रिय बजारमा नकारात्मक सन्देश जाने खतराबारे जिम्मेवार व्यक्तिहरु सचेत हुनुपर्ने सरोकारवालाको भनाई छ । पर्यटनविद् डाक्टर प्रम शर्माकाअनुसार सञ्चारमाध्यमले समेत प्रचारप्रसार तथा समाचार संकलन गर्दा संयम हुन नसकेको बताए ।
यस्ता नकारात्मक हल्लाहरुले भुकम्पबाट थलिएको नेपाली पर्यटकीय बजार बाढी र पहिरोका कारण झनै खस्किने उनको भनाई छ । शर्माकाअनुसार पर्यटकीय प्राकृतिक विपदहरुलाई रोक्न नसकिए पनि पनि पर्यटकहरुलाई तत्काल उद्धारको वातावरणको समेत राज्य सुनिश्चित गर्नुपर्छ । उनले लोकान्तरसँग भने, ‘प्राकृतिक प्रकोपलाई त रोक्न सकिदैन तर छिटोभन्दा छिटो अप्ठ्यारोमा परेका पर्यटकलाई सहज स्थानमा पुर्याउन सरकारले प्रयास गर्नुपर्छ, यही गर्न नसक्दा भुकम्पका बेला नकारात्मक हल्ला फिजिए, बाढी पहिरोले फेरी पर्यटन बजार थलिन्छ ।’
यसैगरी पर्यटन बोर्डका सदस्यसमेत रहेको व्यवसायी कृष्ण अर्यालले प्राकृतिक विपद्का बेला अत्यन्तै सुरक्षित स्थानका बारेमा प्रचार नगर्ने तर जोखिम मात्रै बढी देखाउँदा नकारात्मक सन्देश जाने गरेको गुनासो गरे ।
‘सत्यतथ्यको वास्तविकता नबुझी हल्लाको भरमा नकारात्मक कुरा फैलदा सम्पूर्ण पर्यटन बजारमा ठूलो असर पर्छ, यो कुरा सबैले बुझ्न जरुरी हुन्छ, व्यवसायी त सञ्चारमाध्यम बढी संयमित भएकाले सुरक्षित स्थानको प्रचार गर्नुपर्छ’ उनले लोकान्तरसँग भने ।

यसैगरी होटल ब्यवसायी केशब पाण्डेले सुचना दिने नाममा जसलाई जे मन लाग्यो त्यही गर्ने प्रबृत्ति हाबी भएको भन्दै सकारात्मक तरिकाले बुझ्दै सकारात्मक प्रचारका लागि सबै सञ्चारमाध्यमलाई आग्रह आग्रह गरे । उनले भने, ‘अहिले सबै फेसबुक रिपोर्टर छन्, जसले जे मन लाग्यो त्यही पोष्ट गर्छन्, यसले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक हल्ला फैलिन्छ, नेपाली पर्यटन बजार खस्किन्छ, यो कुरामा संयमित बन्न म आग्रह गर्छु ।’
मुग्लिनको बाटोका कारण सौरहा लगायत पश्चिम नेपालका पर्यटन बजारमा असर परिरहेको बेला बाढी र पहिरोको समस्याको पनि अत्यधिक हल्लाका कारण नकारात्मक असर परेको उनको भनाई छ ।
उनले प्राकृतिक विपत्तिहरु कसैले रोक्न नसक्ने भएकाले कसरी सुरक्षित रहने कुरामा ध्यान दिनुपर्नेमा जोड दिए ।
यसैबिच, नेपाल पर्यटन बोर्डले बाढी, पहिरो र डुबानले पर्यटन क्षेत्रमा र्पुयाएको क्षति विवरण संकलन गर्न थालेको छ । क्षति विवरण संकलन गरी पर्यटन व्यवसायीलाई दिइने राहत प्याकेज बनाएर सरकारलाई सिफारिस गर्ने बोर्डको तयारी रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले जानकारी दिए । बोर्डका अनुसार पहाडी क्षेत्रको पहिरो तथा तराईमा आएको बाढी र डुबानका कारण चितवनको सौराहा, बर्दियालगायतका स्थानमा बढी क्षति भएको छ ।
तस्वीर स्रोतः हिन्दुस्तान टाइम्स