
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादीले राष्ट्रपति सबै दललाई स्वीकार्य हुने साझा व्यक्तिमा सहमति खोज्न दलहरूसँग प्रस्ताव गरेको छ । संविधानको भावना दलीय भागवण्डाभन्दा माथिको व्यक्ति रहेको दाबीसहित माओवादीले सबैलाई मान्य हुने साझा व्यक्तिलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकमा कांग्रेस र एमालेसहितको सहमति गरेर राष्ट्रपतिमा साझा व्यक्ति खोज्नुपर्नेबारे छलफल भएको हो । बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले भारतमा डा अब्दुल जे कलामजस्तै नेपालमा साझा व्यक्ति खोज्नुपर्ने बताएका हुन् । १० पुसमा प्रचण्ड प्रधानमन्त्री बन्दा राष्ट्रपति एमालेले लिने समझदारी भए पनि हाल आएर त्यसको कार्यान्वयन जटिल बन्दै गएको छ ।
००००
नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन्। नवलपरासीमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गरे । कांग्रेस नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई मजबुत बनाएको र कांग्रेसको अबको ध्यान राष्ट्रपतिको निर्वाचनमा रहेको उनको भनाइ थियो ।
००००
प्रधानमन्त्री पुष्पकमलसँग एमालेका अध्यक्ष केपी ओलीले बिहीबार बालुवाटारमा भेटवार्ता गरेका छन् । दलहरूको ध्यान राष्ट्रपतिको चुनावमा केन्द्रित भइरहेका बेला ओलीले लगातार प्रचण्डलाई भेटेका हुन् ।
००००
माओवादी केन्द्रको बिहीबारको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका छन् । उक्त प्रतिवेदनमाथि शुक्रबारपनि छलफल हुनेछ ।
००००
आत्मदाह गरी उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ ।
बिहीबार गृह मन्त्रायका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन भएको हो ।
००००
यसैगरी प्रेम आचार्यकी श्रीमतीले १२ जना विरुद्ध जाहेरी दिएकी छन् । जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार मृतक आचार्यकी श्रीमती नानुका आचार्यले जोहरी दिएकी हुन् ।
००००
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारी १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । झापाको दमक घर भई भक्तपुरको बालकोट बस्ने विभागका इन्जिनियर (आठौँ तह) योगेन्द्र ढुङ्गेललाई बिहीबार साँझ पक्राउ परेको हो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर ११ स्थित विभागको कम्पाउन्डबाट बाहिर निस्कने क्रममा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । खानेपानीको जार तथा मिनरल वाटर कम्पनीका सञ्चालकको काम गर्नका लागि उनले घुस मागेको उजुरीका आधारमा अख्तियारको टोली विभाग पुगेको थियो ।
००००
प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभामा उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशील बनाउने चुनौती रहेको बताए।
प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताए।
००००
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।
आज दिउँसो भएको भेटमा शाह र लामिछानेबीच काठमाडौं महानगरमा रहेको सुकमबासी बस्ती व्यवस्थापनका विषयमा छलफल भएको हो।
००००
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपालको विकासमा भारतको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्।
भारतको ७४औँ गणतन्त्र दिवसका अवसरमा वीरगञ्ज महावाणिज्य दूतावासद्वारा आयोजित विशेष समारोहमा उनले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतको विकासमा भारतीय सरकारको महत्त्वपूर्ण सहयोग रहेको बताए । यसैबीच भारत सरकारले बिहीबार ७४औँ गणतन्त्र दिवस मनाएको छ ।
भारतको संविधान बनेपछि हरेक बर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ ।
००००
होटल, लज, मोटेल, रेष्टुरेन्ट आदिले लिँदै आएको १० प्रतिशत सेवा शुल्क नलिन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।
माघ ११ गते सर्वोच्चको संवैधानिक इजलासबाट उक्त परमादेश जारी गरिएको हो।
००००
कांग्रेसको यसअघि दुईपटसम्म सरेको केन्द्रीय कार्यसमितिको बैठक फेरिअनिश्चितकाल लागि स्थगित भएको छ।
यस अघि २२ पुसको बैठक २८ पुसमा सारिएको थियो । तर २८ बाट पनि सारेर १५ माघमा र्पुयाइको थियो। तर १५ माघका लागि तय भएको बैठक पनि अर्को सूचना जारी नभएसम्म लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
००००
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो ।
००००
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी तथा सरस्वती पुँजा बिहीबार सम्पन्न भएको छ । सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेकी छन्।
राष्ट्रपतिले सरस्वती पूजाको अवसरमा सो उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा छ ।