
काठमाडौंको माइतीघरमा आज बिहान रवि लामिछाने समर्थकहरूले प्रदर्शन गरेका छन्।
समर्थकहरूले माइतीघर चोकबाट बानेश्वरसम्म प्रदर्शन गरेका हुन्। त्यस क्रममा उनीहरूले 'रवि दाइ हाइ', 'अदालतको सुनियोजित फैसला रद्द गर', 'भ्रष्टाचारीलाई कारबाही गर'लगायत नारा लगाएका छन्।
प्रदर्शनमा सहभागीहरूले अत्याचारविरुद्ध विद्रोह गर्न आएको बताएका छन्। आफूहरू राष्ट्रवादी नेपाली भएको भन्दै उनीहरूको भीडले बानेश्वर-माइतीघर सडक भरिएको छ।
त्यहाँ केही प्रहरीहरू पनि तैनाथ गरिएका छन्।
हिजो सर्वोच्च अदालतले रवि लामिछानेलाई गैरनागरिक ठहर गर्दै उनले पाएको सबै सार्वजनिक पद खारेज गरिदिएको थियो। हिजै पनि सर्वोच्च अदालत परिसरमै उनको समर्थनमा युवाहरूले प्रदर्शन गरेका थिए।