०३ असार २०८३, बुधबार

नदीमा अस्थायी पुल : मोटरसाइकललाई ४० र साइकललाई ५ रुपैयाँ शुल्क

माघ २०, २०७९
नदीमा अस्थायी पुल : मोटरसाइकललाई ४० र साइकललाई ५ रुपैयाँ शुल्क

कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे बिहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छिन् । नदी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएकी छन् ।

पुलमार्फत् ओहोरदोहोर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनी शुल्क लिन्छिन् । 

पुलमार्फत् नदी वारपार गर्ने मोटरसाइकल सवारले ४० रुपैयाँ र साइकल सवारले ५ रुपैयाँ बुझाउँछन् । रानाको यो पछिल्लो ३ वर्षदेखिको दिनचर्या हो ।

नदी छेउमै काठको वेरियर छेउ सानो पसल पनि राखेकी छन् उनले । पुल भएर ओहोरदोहोर गर्ने साइकल तथा मोटरसाइकल सवार यात्रुबाट हुने आम्दानीले उनले घर खर्च चलाएकी छन् । पुल प्रयोग गर्नेहरूबाट उनले दैनिक १ हजारदेखि २ हजार ५०० रुपैयाँसम्म रकम उठाउँछिन् । पतिको निधन भएपछि छोरा बुहारी, नाती नतिनाको खर्चको जोहो गर्न उनले नदीमा अस्थायी पुल राखेकी हुन् ।
 
‘रोजगारी छैन । खेती गर्न जग्गा छैन । नदीले जग्गा बगाएपछि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएका छौं,’ उनले भनिन्, ‘हरेक वर्ष बर्खा सकिएपछि कात्तिकदेखि नदीमा अस्थायी पुल राख्ने गरेकी छु ।’

उनले कात्तिकमा राखेको पुल जेठतिर निकालेर घरमा राख्छिन् । नदीमा ७ महिना राखिने पुलबाट हुने आम्दानीले रानाको परिवार चलेको छ ।

रानाले अस्थायी रूपमा काठको पुल राखेको स्थानभन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठड्याइएका छन् तर १ दशकअघिदेखि यसैगरी उभिएका पिलरले कहिले मूर्तरूप कहिले लिने हो टुंगो छैन ।

स्थानीय बोटसिंह राना भन्छन्, ‘कृष्णपुर नगरपालिकाको वाणि हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो । निर्माण अलपत्र परेपछि अस्थायी पुलमा शुल्क तिरेर तर्न बाध्य छौं ।’ 

दोदा नदी नजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ । नदी तर्नेबाट त्यस ठाउँमा समेत शुल्क लिइने गरिएको छ । नदीमा निर्माण गरिएको झोलुङ्गे पुल गत भदौको अन्तिम हप्ता आएको बाढीले ढालेपछि स्थानीय शुल्क तिरेर काठको अस्थायी पुल तर्दै आएका छन् । 

नदीमा काठको अस्थायी पुल राखेर शुल्क उठाउँदै आएका रामबहादुर रानाले १५ जना मिलेर अस्थायी पुल राखेको बताए । पुलबाट उठेको केही रकम स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने र बचेको रकम १५ जनाले बाँडेर लिने गरेको उनले सुनाए श्र

दुवै नदीमा बनाइएका अस्थायी पुलमार्फत् पैदल यात्रु, साइकल र मोटरसाइकल आवतजावतका लागि प्रयोग हुने गरेको छ । ‘अस्थायी भए पनि निर्माणकर्ताले काठको व्यवस्था गरी पुल राख्दा थोरै समयका लागि भएपनि सुविधा पुगेको छ,’ स्थानीय प्रकाश खुनाले भने, ‘थोरै शुल्क लिँदा चित्त दुखाएका छैनौं, बरु सेवा पाएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्