
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन्।
शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५ चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहमा प्रधानमन्त्रीले यस विद्यालय निर्माणमा आफ्नो पनि केही न केही भूमिका रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले भने, 'विनासकारी भूकम्पपछिको पुनर्निर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको छ। भौतिक पूर्वाधार र शिक्षा स्वास्थ्यमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। नेपाली जनताको समृद्धि र सुशासनको आकांक्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा गरेको छु।'
सिन्धुपाल्चोकका जनताका पीडामा सहभागी हुने अवसर मिलेको प्रचण्डको भनाइ थियो।
'दुख र सुखीमा म तपाईंहरूको साथसाथै छु', उनले भने, 'जुरेको पहिरो, भूकम्पको पुनर्निर्माण, मेलम्चीको विनासलगायत सबै पीडामा म तपाईहरू सँगसँगै छु। म तपाईंहरूसँग ऐक्यबद्ध भएर काम गर्न पाउँदा खुसीको महसुस गरेको छ। आगामी दिनमा पनि सिन्धुपाल्चोकको विकासका निम्ति म तपाईहरूकै साथमा हुनेछ।'
नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेको र आफूले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेको उनले बताए।
मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको पनि उनको भनाइ थियो।
'निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु। बैंक र व्यवसायीबिच सहकार्यको स्थिति सिर्जना भएको छ। अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन्। अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ,' प्रधानमन्त्री प्रचण्डले भने।
शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने उनले बताए।