
भारतबाट आयातित अण्डाका कारण नेपाली अण्डाले बजार नपाएर किसानको बिचल्ली हुने क्रम नरोकिएपछि अण्डा उत्पादक किसान संघ बागमतीले आन्दोलन शुरू गर्यो । आन्दोलनको नेतृत्व गरेका थिए, संघका अध्यक्ष प्रकाश अधिकारीले । उनी कुनै बेला नेपाली चलचित्र उद्योगका चल्तीका नायक पनि हुन् ।
अधिकारीको नेतृत्वमा भारतबाट आउने अण्डालाई काठमाडौं भित्रिन नदिन नागढुंगा लगायतका विभिन्न नाकामा मध्यरातसम्म गस्ती गर्न थालियो । प्रहरी प्रशासनले पनि कडाइ गरिरहेकै थियो । तर, पनि अण्डा आयात नरोकिएपछि अधिकारीले अनेक कोणबाट छड्के जाँच गरे । त्यसपछि जे तथ्य भेट्टाए, त्यसबाट उनी निराश हुन पुगे । दलालहरू सामु आफूले ‘कुनै पनि हालतमा नसक्ने’ निष्कर्षमा पुगेपछि उनले हार खाए । केही निहुँ पारेर आन्दोलन टुंग्याए ।
उनले फेला पारेको तथ्य हो, संघकै पदाधिकारीहरू भारतीय अण्डा आयात गर्ने मुख्य एजेन्ट रहेछन् । दिउँसो स्वदेशी उत्पादनलाई जोड दिँदै भारतीय उत्पादन बहिष्कार गरौं भनेर भाषण गर्ने अनि राति–राति आफैंले भारतबाट अण्डा ल्याउने उनीहरूको धन्दा रहेछ । आफैंले आन्दोलनको नेतृत्व गर्ने भएपछि कतिबेला कहाँ कस्तो कार्यक्रम हुन्छ भन्ने थाहा हुने भैहाल्यो । त्यो अवधि कटाएर निश्चित समयमा विभिन्न नाकाहरूबाट भारतीय अण्डा भित्र्याउने काम उनीहरूले गर्दा रहेछन्, अर्थात् आफैं बोक्सी, आफैं झाँक्री ।
यो एक दशकअगाडिको घटना हो । अधिकारीसँग मेरो भेट नभएको पनि वर्षाैं भयो । उनी अचेल कहाँ के गर्दैछन्, थाहा छैन । यत्ति थाहा छ, अण्डा उत्पादनलगायतका कुनै पनि कृषि कर्ममा छैनन् ।
शुक्रवार चितवनका किसानले सडकमा तरकारी फालेर गरेको विरोध प्रदर्शनपछि मैले प्रकाश अधिकारी र उनले भारतीय अण्डा रोक्न गरेको आन्दोलन अनि त्यसको नियतिलाई सम्झिएँ । मेरो आशय चितवनमा शुक्रवार गरिएको विरोध प्रदर्शन वा अरू किसान आन्दोलनप्रति प्रश्न उठाउने होइन, नेपालमा समग्रमा किसान आन्दोलन किन सफल हुँदैनन् भन्ने दृष्टान्त दिनु हो । कतिपयलाई अलि बढी लेख्यो भन्ने लाग्न सक्छ, नेपालमा आजको दिनमा किसानसँग सम्बन्धित कुनै पनि संघसंस्था र निकायहरूमा निष्कलंक रूपमा किसानप्रति सद्भाव राख्ने मानिसहरूको संख्या अति नै सानो छ ।
मन्त्रिपरिषददेखि कृषि मन्त्रालयसम्म, राजनीतिक पार्टी र तिनका संघ संगठन, दातृ निकाय र गैरसरकारी संघ–संस्थाहरूका पदाधिकारी तथा तिनीहरूको कार्यशैली हेर्दा, विश्लेषण गर्दा उनीहरू को नियत स्पष्ट हुन्छ । उनीहरूका लागि किसान फगत सोकेसमा राखिएका आकर्षक ‘डमी’हरू मात्र हुन्, जुन कार्यक्रममा भीड जुटाउन, चुनावमा भोट जुटाउन, सामाजिक सञ्जालहरूमा लाइक जुटाउन काम लाग्छन् । भाषण र बजेट भाषणहरूमा, नीति र कार्यक्रमहरूमा आकर्षक नारा दिएर वाहवाही जुटाउन काम लाग्छन् । त्यत्ति गर्न किसानका मुद्दालाई निरन्तर ब्युँताइहेकाछन् । उठाएर क्रान्तिकारिता प्रदर्शन गरिरहन्छन् ।
अहिले चितवन घटनापछि प्रमुख राजनीतिक पार्टीका नेताहरूले समेत सामाजिक सञ्जालमा, सञ्चारमाध्यममा ‘किसानप्रति हाम्रो ऐक्यबद्धता छ’ भन्दै रोइलो मच्चाइरहेका छन् । के भनेझैँ साँच्चै नै उनीहरू किसानका समस्याप्रति चिन्तित छन् ? त्यसो भए कांग्रेस—एमाले—माओवादी—रास्वपाले आफ्ना नेता कार्यकर्ताहरूलाई अवैधरूपमा कृषि उपजको आयात नगर, गर्यौ भने कारवाहीमा पर्छाै भनेर भन्न किन सक्दैनन् ? कुनै पदको भागबण्डाका लागि दिनमै पटक–पटक ‘लन्च मिटिङ’ गर्न सक्ने उनीहरूले किसानका समस्या समाधानका लागि एउटा संयुक्त बैठक राखेर ठोस रूपमा ‘एक्सन’ लिन किन सक्दैनन् ? पार्टीका निकायहरू (अझ कृषि विभागहरू, किसान संघ–संस्थाहरू) मा चिनिएका दलालहरूलाई किन नियुक्ति दिन्छन् ? किसान संघ संगठनमा दलालहरूकै हालीमुहाली किन चल्छ ? यत्ति प्रश्नको जवाफ खोज्ने हो भने प्रकाश अधिकारीहरू किन पलायन हुन्छन् र चितवनका किसानहरूले आफ्नो उत्पादन किन सडकमा फाल्न बाध्य भए भन्ने प्रश्नको जवाफ स्वतः पाउन सकिन्छ ।
चितवन घटनाको बारेमा चर्चा गर्दा मैले सम्झिएको अर्काे नाम रणबहादुर चन्द हो । नेपाल प्रहरीको डीआईजीबाट अवकाश पाएका चन्दले नेपालको कृषि विकास मात्र होइन, आर्थिक विकासका लागि नै एउटा गज्जबको ‘आइडिया’सहित काम गर्न खोजिरहेका थिए । उनको ‘आइडिया’ थियो– सुरक्षा अंगमा कार्यरत पदाधिकारीहरूका श्रीमतीहरूको सहकारी बनाउने र त्यो सहकारीमार्फत हरेक सुरक्षाकर्मीको परिवारलाई कृषि उत्पादनमा लगाउने । त्यसरी उत्पादित कृषि उपजलाई सुरक्षा निकायका मेसहरूले खरिद गर्ने । बाहिरबाट खरिद नगर्ने । त्यसो गर्दा एकातर्फ सुरक्षाकर्मीका परिवारहरू आत्मनिर्भर हुन्थे भने अर्कातर्फ मेसहरूमा माछा, मासु, तरकारी, फलफूल खरिदको नाममा हुने निकै ठूलो खर्च जोगिन्थ्यो ।
त्यो ‘आइडिया’ कार्यान्वयनका लागि चन्दले धेरै ठाउँ धाए । धेरै पदाधिकारीहरूसँग हारगुहार गरे । कसैले पनि उनको सोचलाई गलत भनेनन्, सबैले ‘आहा ! कस्तो राम्रो आइडिया’ भन्दै प्रशंसा नै गरे । तर, लौ न त गरौं भन्दा कसैले पनि चासो दिएन, । अनेक बहाना बनाएर टारिरहे । किन ? किनकी सुरक्षा निकायका मेसहरूमा माछा, मासु, तरकारी, फलफूलहरू खरिद गर्दा जुन कमिसन आउँछ, सुरक्षाकर्मीकै परिवारले उत्पादन गरेर त्यही उपयोग गर्नु परेपछि कमिसन घट्ने निश्चित थियो । अनि उनीहरूले त्यसलाई किन कार्यान्वयन गर्थे ? आजको दिनमा सुरक्षा निकायका मेसहरूमा पाक्ने विदेशी कृषि उपजको खरिद र त्यसक्रममा हुने कमिसनको ‘डिल’ लाई रोक्ने हो भने नेपाली कृषि उपजको बजारीकरणले एउटा ठूलो फड्को मार्नेछ । र, किसानले रुँदै तरकारी फाल्नु पर्ने छैन ।
तर, गर्ने कसले ?
कृषि क्षेत्रका विज्ञ र नीति निर्माता डाक्टरहरूको त कुरै गर्नु परेन । उनीहरूले बनाएको अहिलेसम्मकै सबैभन्दा राम्रो नी
ति २० वर्षे कृषि रणनीति हो । कृषि विकासको महत्त्वाकांक्षी निबन्ध लेखेर कृषि क्षेत्रका विज्ञ रणनीतिकारहरूले २० करोड रुपैयाँ तलब भत्ता खाएर आफ्नो ‘काम’ गरे । र, त्यो कस्तो छ र त्यसले कल्पना गरेको कृषि विकासको परिणाम कस्तो भैरहेको छ भन्ने कुराको एउटा ‘टेस्टिङ’ शुक्रवारको चितवन घटना हो ।
अहिले तिनै विज्ञहरूले सामाजिक सञ्जालमा किसानका मुद्दा सम्बोधनका लागि यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भन्दै दिएका उपदेश सुन्दा मलाई भने सी ग्रेडका भारतीय फिल्मका नायकहरूले हिरोइनसँग बोलेका भद्दा ‘डायलग’हरू जस्तै लाग्छ । विज्ञ महोदय ! किसानको आसुँमा खेल्दै मच्चाउने प्रोजेक्टरका व्यापारहरू बन्द गर । अति भयो किसानको नाममा प्रोजेक्टरको व्यापार, अति भो विज्ञताको खेती, तिम्रो खेती बन्द नहुन्जेल किसानको खेती फस्टाउन नसक्ने भयो ।
चितवन घटनाका अर्को कारक पत्रकारहरू हुन् । पत्रकारको आवरण भिरेका त्यस्ता पात्रहरू छन्, जसले किसानको समस्या समाधानमा सहयोगी भूमिका खेल्नुभन्दा पनि उनीहरूलाई कहिले उचालेर त कहिले पछारेर आफ्नो जीवन निर्वाह गर्छ । उनीहरूका लागि किसानका समस्या वा सफलताको कथा सूचना सम्प्रेषणको माध्यम होइन, आफ्नो स्वार्थ पूरा गर्न ‘खेल्ने’ माध्यम हो । भाइरल बन्ने र बनाउने माध्यम हो ।
त्यसैले कहिले उसले पवन गोल्यानका सफलताका कथा छापेर आफ्नो स्वार्थ पूरा गर्छ त कहिले ‘तरकारीवाली’का तस्विरहरूलाई भाइरल बनाएर आफ्नो ‘टीआरपी’ बढाउँछ, कहिले विनिता बरालहरूका ‘सेक्सी’ तस्विरसहितको कथा छापेर ‘युवालाई प्रोत्साहन’ दिएको नाटक गर्छ । नेपालको पत्रकारिता क्षेत्रले सफलताको मानक मानेर वाहवाही गरेका पात्रहरू कहाँ छन् ? तिनीहरूको नियत र हविगत के छ भनेर स्मरण गर्ने हो भने नेपालमा पत्रकारहरूले पत्रकारिता गरिरहेका छन् कि कुन्नी के कारिता गरिरहेका छन् भन्ने स्पष्ट हुन्छ ।
यदि सञ्चारमाध्यमहरूले, पत्रकारहरूले आफ्नो पेशागत धर्मलाई साक्षी राखेर काम गर्ने हो भने नेपालको कृषि क्षेत्रका धेरै समस्याहरू समाधान हुन सक्छन्, किनकी कृषि क्षेत्रका धेरै समस्याहरू समाचार र सूचनाको ‘मिस लीड’का कारण सिर्जना भएका छन् ।
धेरैलाई लाग्छ, किसानको समस्याका मुख्य कारण व्यापारी हुन्, बैंक र इन्स्योरेन्स कम्पनीहरू हुन् । तर, तिनीहरूले सिर्जना गरेका समस्याहरू सहायक मात्र हुन् । मुख्य समस्या त राजनीतिक र प्रशासनिक नेतृत्वको वरपर रहेका ठग र माफियाहरूको औपचारिक, अनौपचारिक जञ्जाल, विज्ञहरू र पत्रकारहरूको भ्रमको खेती मुख्य कारण हो । यदि पत्रकारहरू र सञ्चार माध्यमले पत्रकारिताको धर्मलाई सर्वाेपरी मानेर काम गर्ने हो र राजनीतिक तथा प्रशासनिक नेतृत्वले दलाल र माफियाहरूलाई प्रोत्साहित नगर्ने हो भने व्यापारी, बैंक र इन्स्योरेन्स कम्पनीहरू २ दिनमा ठीक ठाउँमा आउँछन् । अनि बल्ल कृषि क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्छन् । त्यसका लागि भावानात्मकरूपमा उत्तेजित भएर आफ्नै उत्पादन सडकमा फाल्ने होइन कि कृषि क्षेत्रका दलाल र तिनका संरक्षकहरूको पहिचान गरेर (जुन कुनै ठूलो कुरो होइन) उनीहरूलाई तह लगाउने आँट गर्नुपर्छ । त्यसका लागि भरोसायोग्य नेतृत्व बनाउन सक्नु पर्छ । तब बल्ल किसान आन्दोलन सफल हुन सक्छ । अन्यथा किसानहरू जहिले पनि राजनीतिक पार्टी र दलालहरूका खेलौना मात्र बनिरहने निश्चित छ ।