
आज प्रदेश १ प्रदेशसभाको बैठक बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । प्रदेश सभाको यो छैटौँ बैठक हो । बैठकको बिजनेस नभएको भन्दै तीन साताअघि बैठक स्थगन गरिएको थियो ।
पुस ३० मा उपसभामुख चयन गरेपछि बिजनेस नभएकै कारण प्रदेशसभा अनिश्चितकालका लागि स्थगनमा भएको थियो । संसद् बैठक शुरु हुने अघिल्लो दिन आइतबार साँझसम्म सरकारले सदनमा कुनै पनि विधेयक पठाएको छैन । बैठक पुन बिजनेसविहीन हुने देखिएको छ ।
यद्यपि प्रदेशसभामा यसअघि नै दुई वटा अध्यादेश पेस भइसकेका छन् । प्रदेश निजामती सेवा अध्यादेश र केही प्रदेश ऐन संशोधन अध्यादेशलाई ६० दिनभित्र विधेयक ल्याई प्रतिस्थापन गर्नुपर्ने हुन्छ । सरकारले सोहीअनुसार तयारी भइरहेको जनाएको छ । सरकारले सांसदलाई बिजनेस दिने गृहकार्य भइरहेको जनाउँदैआएको छ ।
अघिल्लो सरकारले लामो समयसम्म रहँदा पनि कुनै बिजनेस नदिएको बताउँदै प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले नयाँ सरकार बनेको छोटो समयमै बिजनेस दिन सम्भव नहुने बताए । अब तयारी गरेर सरकारलाई बिजनेस दिने उनले बताए ।
संसदीय अभ्यासमा हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । बर्खे अधिवेशन नीति तथा कार्यक्रम एवम् बजेटमा केन्द्रित हुने, विशेष अधिवेशन खास मुद्दामा केन्द्रित हुने भएकै कारण हिउँदे अधिवेशन विधेयकहरू आउने अवसरका रूपमा चिनिन्छ । तर, दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौँ बैठकसम्म आइपुग्दा संसद्मा कुनै पनि विधेयक दर्ता भएको छैन ।
अघिल्लो सरकारले तयार पारेको सञ्चार विधेयक तत्कालीन विधायन समितिका सभापति इन्द्रमणि भण्डारीले समितिमा छलफलमा नलगेर रोकेका थिए । उक्त विधेयकबारे नयाँ सरकारले केही बोलेको छैन । मुख्यमन्त्री हिक्मत कार्की भने सञ्चार विधेयकलाई अगाडि बढाउने बताएका छन् ।
स्थानीय तह सेवा ऐन, भाषा आयोगले सिफारिस गरेअनुसार प्रदेशको कामकाजी भाषाबारे पनि विधेयक आउन जरुरी रहेको सांसदहरूले बताउँदैआएका छन् । तर, सरकारले यी विधेयकमा कुनै तयारी गरेको देखिदैन । यसबाहेक संसद्का विषयगत समितिहरू पनि गठन भएका छैनन् ।
नयाँ सरकारले जिम्मेवारी लिएको महिना दिन हुनै लाग्दा पनि संसद्लाई विधेयक दिने र चलायमान बनाउने सवालमा ध्यान नदिएको भन्दै सत्ता गठबन्धनकै नेताहरू असन्तुष्ट छन् । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले संसद्लाई बिजनेस तत्कालै दिनुपर्ने बताए ।
सोमबार हुन लागेको संसद् बैठकअघि सभामुख बाबुराम गौतमले सर्वदलीय बैठक बोलाएका छन् । सोही बैठकपछि बस्ने कार्यव्यवस्था समितिको बैठकले कार्यसूची तय गर्ने प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।