३१ असार २०८३, बुधबार
ओली-प्रचण्ड भेट

राष्ट्रपति चुनाव र रास्वपाको बहिर्गमनपछिको अवस्थाबारे प्रचण्ड–ओली छलफल

राष्ट्रपति चुनाव र रास्वपाको बहिर्गमनपछिको अवस्थाबारे प्रचण्ड–ओली छलफल
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । 

बालुवाटारमा भएको भेटवार्ता राष्ट्रपति चुनाव, रास्वपाका मन्त्री फिर्ता, सरकार सञ्चालनसहितका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

‘राष्ट्रपति चुनाव, रास्वपाका मन्त्रीहरूको राजीनामापछिको अवस्था, सरकार सञ्चालनसहितका विषयमा कुराकानी भएको हो,’ बालुवाटार स्रोतले भन्यो ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओली सशंकित छन् । प्रचण्डले पनि राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गरिरहँदा ओलीले दबाब बढाउनका लागि एकदुई दिन बिराएर प्रचण्डसँग भेटिरहेका छन् ।

अघिल्लो दिन सोमवार सिंहदरबारमा प्रचण्ड, ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच त्रिपक्षीय छलफल भएको थियो । सीमा सुरक्षासहितका राष्ट्रिय मुद्दामा छलफल गर्नुअघि तीन नेताले राष्ट्रपति चुनावसहित राजनीतिक विषयमा पनि कुराकानी गरेका थिए ।

प्रधानमन्त्री माओवादीले लिँदा पूर्व सहमतिअनुसार सभामुखसँगै राष्ट्रपति पनि आफूले पाउनुपर्ने अडानमा एमाले छ । तर, प्रचण्ड ओलीले अगाडि सार्ने पात्रलाई सहजै राष्ट्रपति बनाउन तयार देखिएका छैनन् ।

आगामी फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा माओवादीसँग निर्णायक मत छ । सोही कारण कांग्रेसले पनि माओवादीलाई फकाउँदै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्