
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्थामा नरहेको बताएका छन् । वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको उनको भनाइ छ । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले त्यस्तो बताएका हुन् ।
नीजि क्षेत्र नै आर्थिक समृद्धिको आधार रहेकाले सरकारले सवैलाई साथ लिएर अघि बढ्ने बताए । अहिले देशको आर्थिक अवस्था त्यति सन्तोषजनक नभए पनि आत्तिनुपर्ने अवस्थामा छैन उनले भने । सरकार, नीजि क्षेत्र र आम नागरिकहरुका बीचको सहकार्यबाटै अहिलेको अवस्थाबाट पार पाउन सकिने पनि उल्लेख गरे ।
विगतको अनुभवका आधारहरु र अहिलेको परिस्थितिबारे सुक्ष्म अध्ययन गरेर त्यसैअनुसारका कामलाई सरकारले अघि बढाएको पनि अर्थमन्त्री पौडेलको भनाई छ । अहिलेको सरकारको मुख्य उद्देश्य आर्थिक क्षेत्रका समस्या समाधान गर्ने रहेको पनि उनले बताए ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघले पनि साना तथा मझौला उद्योगहरुको रुपमा रहेको मसलन्द उद्योगको विकासका लागि सरकारसँग पहल गर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनतर्फ इंगित गर्दै वरिष्ठ उपाध्यक्षका चार जना आकांक्षीलाई मिल्न उनले आग्रह गरे ।
वरिष्ठ उपाध्यक्ष नै अर्को पटक स्वतः अध्यक्ष रहने विधानमा व्यवस्था भएकाले आफू अध्यक्ष हुँदा विधान संशोधन गरेर सवैलाई मिलाउन पहल हुने उनले बताए । उनले भने ‘अहिले चार जनाले वरिष्ठ उपाध्यक्षमा दावी गर्नुभएको छ, म अध्यक्ष भएपछि विधान संशोधन गरेर कार्यकाल २–२ वर्षको बनाउन पहल गर्छु, अहिले मिलेर एक एक जना आउनु भयो भने सवै अध्यक्ष भएर जाने वातावरण बन्छ ।’
यसैगरी उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले मसलन्द उद्योग वाणिज्य महासंघको महत्वपूर्ण अंग रहेको बताउँदै यसको समस्या समधानका लागि आफू सधैं प्रयास गर्न र उद्योगी व्यवसायीसँग मिलेर अघि बढ्न तयार रहेको बताए ।
कार्यक्रममा मसलन्द उद्योगका अध्यक्ष हरिप्रसाद भण्डारीले अहिले पनि राज्यले कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर एउटै कायम गर्दा नेपाली उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न अप्ठेरो परेको बताए । देशभरका झण्डै ५ सय प्रतिनिधि सहभागी भएको साधरणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।