
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले स्वरूप परिवर्तन तथा ध्वनि प्रदूषण गर्नेगरी तीव्र गतिमा लापरवाहीपूर्वक बाइक चलाउने ५० जना चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको टोलीले माघ २६ र २७ गते दुई दिन ती बाइक चालकहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको जनाएको छ । मोटरसाइकल मोडिफाई गरी शान्ति सुरक्षा नै भङ्ग गर्नेगरी आवाज निकाल्ने ती बाइक चालकलाई कारवाही गरिएको प्रहरीको भनाइ छ । सडकमा हड्ने बटुवा तथा स्थानीय व्यापारीको गुनासो बढेपछि कास्की ट्राफिक प्रहरीले २५ गते बाट अभियान सञ्चालन गरी स्वरुप परिवर्तन भएका मोटरसाइकलहरु नियन्त्रणमा लिन शुरु गरेको थियो ।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई पहिलेकै स्वरुपमा परिवर्तन गर्न लगाई एक हजार देखि पाँच हजार रुपैयाँसम्म जरिवाना गरिएको प्रहरीले जनाएको छ । मोडिफाईड सवारी चालकलाई सवारी नियमसम्बन्धी कक्षा सञ्चालन गर्ने तयारीमा आफुहरु लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।