
जिल्लाकै पुरानो बजार मानिने खोटेहाङ गाउँपालिका –७ खोटाङबजारको सडक ढलानको काम छ महिनादेखि अलपत्र परेको छ । धुलिखेल निर्माण सेवाले विसं २०७८ असार ३० गतेसम्ममा सक्नेगरी विसं २०७७ असार ३० गते खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लिएको थियो ।
निर्माण कम्पनीले गत असारदेखि सडक ढलान तथा डीबीएसटी (कालोपत्र) को काम रोकेर अलपत्र पारेको गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिए । “प्रदेश सरकारको रु दुई करोड ६९ लाख २५ हजार ७९७ को लागतमा खोटाङबजारको सडक ढलान तथा डीबीएसटी पिचको ठेक्का लगाइएको थियो”, उनले भने, “गुणस्तहीन काम भयो भन्ने गुनासो आएपछि अनुगमन गरेर ढलानको काममा रोक लगाएका थियौंँ । त्यसका केही समयसम्म काम गरेर हिँडेको ठेकेदार अहिलेसम्म बेपत्ता छ । गत असारदेखि काम ठप्प छ ।”
खोटाङबजारभित्र करिब सात सय मिटर आरसीसी ढलान र करिब छ सय मिटर डीबीएसटी कालोपत्र गर्नुपर्ने सम्झौता छ । तर सडक ढलानका क्रममा ढिलासुस्तीसँगै गुणस्तरहीन गिट्टी र बालुवा प्रयोग गरिएको, मापदण्डअनुसारको दूरीमा रडको जाली नराखिएको, ढलान गर्नुअघि राखिएको सोलिङ राम्ररी नगरिएको गुनासो आएको थियो ।
सडक ढलानमा प्रयोग गर्न ल्याइएका गिट्टी र बालुवा छुट्याउन नसकिने अवस्थाको रहेको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुँयालले बताए । “बनिसकेका ड्रेन र मेसिरेनरी पर्खाल भत्किन थालेको छ”, उनले भने, “ढलानका लागि ल्याएर जथाभावी थुपारिएको बालुवा, गिट्टी र रडका कारण बजारमा दुर्घटनाको जोखिम उत्तिकै बढेको छ । यसप्रति सम्बन्धित निकायले तत्काल ध्यान दिन जरुरी छ ।”
सुरुमा खोटाङबजारमा डिबीएसटी कालोपत्र गर्ने गरी डिपिआर तयार पारिएको थियो । तर डिबीएसटी गर्ने क्रममा रोलरको थर्कनले बजारका क्षेत्रका परम्परागत घरहरू (ढुङ्गामाटोको घर) लाई असर गर्ने जनाउँदै डिजाइन परिवर्तन गरेर घरहरू भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच गर्ने गरी काम अघि बढाइएको थियो ।
परिवर्तित डिजाइनअनुसार २ नम्बर धाराबाट इलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धाराबाट गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम अघि बढाइएको थियो । सम्झौता म्याद नाघेको १८ महिना बितिसक्दा आयोजनाको करिब ६० प्रतिशतमात्र काम सकिएको अनुमान गरिएको छ ।
निर्माण कम्पनीले दुईपटक थप भएको म्याद गुजारीसकेको सहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाले जनाएको छ । निर्माण कम्पनीले कोभिड–१९ को महामारीका कारण सरासर काम गर्न नपाएको बताउँदै आएको छ । अलपत्र अवस्थामा सडक ढलानको काम छाडेर हिँडेका ठेकेदारलाई दशैँ तिहारपछि काममा फर्काउने गाउँपालिकाले बताए पनि अहिलेसम्म फर्किएका छैनन् । ठेकेदारले ढलान गर्न बिछ्याइएको ठाउँबाट फलामेरड तथा सिमेन्ट र बालुवासमेत उठाएर अन्यत्र लगेको प्रत्यक्षदर्शीले बताएका छन् । रासस