२२ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

राष्ट्रपतिबारे कांग्रेसले थाल्यो निर्णायक छलफल, माओवादीले बोलायो पदाधिकारी बैठक

राष्ट्रपतिबारे कांग्रेसले थाल्यो निर्णायक छलफल, माओवादीले बोलायो पदाधिकारी बैठक

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छन्–
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आइतबार राति भेटवार्ता भएको छ । देउवा प्रचण्डलाई भेट्न सरकारी निवास बालुवाटारमा पुगेका हुन् । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै जाँदा देउवा छलफललाई निर्णायक बनाउने उद्देश्यका साथ बालुवाटारमा पुगेका हुन् । 

सो क्रममा राष्ट्रपतिको निर्वाचन र सत्ता सहकार्यका सम्भावित विकल्पका विषयमा छलफल केन्द्रित भएको थियो ।  भेटमा देउवासहित कांग्रेसबाट नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, गगन थापालगायत पनि सहभागी थिए । सो क्रममा देउवासहितका कांग्रेसका नेताहरुले राष्ट्रपतिमा सहयोग गर्न प्रचण्डलाई आग्रह गरेका थिए । जवाफमा प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय लिइने बताएका थिए । 

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच राष्ट्रपतिको विषयमा सहमति हुन नसकेको अवस्थामा प्रचण्ड र देउवाबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रचण्डले आफ्नो पार्टी राष्ट्रपतिबारे राष्ट्रिय सहमतिको पक्षमा रहेको बताउँदै आएका छन् । यस्तै कांग्रेसले राष्ट्रपतिमा माओवादीले आफूलाई सघाउने विश्वास व्यक्त गर्दैआएको छ । 
००००
यसैबीच कांग्रेससँग छलफललगत्तै  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबारका लागि बोलाइएको छ । माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजे बैठक पेरिसडाँडामा बस्दैछ ।  

फागुन २५ गते हुने राष्ट्रपति चुनावका विषयमा केन्द्रित भएर छलफल हुने यादवले बताए । ाष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको छ । 
पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा एमालेले पाउने सहमति बनेको सो पार्टीले दाबी गर्दै आएको छ । तर, पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस शुरु भएको थियो । माओवादीका नेताहरुले एमालेसँग राष्ट्रपतिबारे कुनै सहमति नभएको बताउँदै आएका छन् । 
००००
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमतिका आधारमा निर्माण गर्नुपर्ने बताएका छन् ।
 
प्रेस सेन्टर सिन्धुलीले आइतबार दिउँसो सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले राष्ट्रिय सहमति विना राष्ट्रपति चयन हुन नसक्ने बताए ।
यसैगरी महासचिव देवप्रसाद गुरुङले राष्ट्रपतिको उम्मेदवार साझा व्यक्ति हुनुपर्ने बताएका छन्। प्रेस सेन्टर नेपाल, कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले पार्टीगतभन्दा पनि साझा व्यक्तिबाट राष्ट्रपति खोज्न आवश्यक भएको बताए।
००००
नेकपा एमालेले राष्ट्रपति निर्वाचनका लागि फागुन १३ आफ्नो तर्फबाट उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।
२५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन नै एमालेले आफ्नोतर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले बताए।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अबको राष्ट्रपति कांग्रेसबाट बन्ने बताएका छन्। 
नेपाली कांग्रेस सुर्खेतले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले कांग्रेस उम्मेदवार नै राष्ट्रपतिमा निर्वाचित हुने दाबी गरे। भने, ‘राष्ट्रपति कांग्रेसले उमेदवार बनाएको व्यक्ति बन्नुहुन्छ, त्यसमा कुनै शंका छैन।’
००००
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको चुनावपछि अग्रगमन पक्षधरको ध्रुवीकरण हुने बताएका छन् ।
पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटीको दोस्रो बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले विगतमा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकताबद्ध भएका शक्तिबीच छलफल गरी राष्ट्रपतिको साझा उम्मेदवार प्रस्ताव गरिने हुँदा मुलुकमा नयाँ ध्रुवीकरणको वातावरण बन्ने बताए ।
००००
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल शुरू गरेको छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरूसँग छलफल गर्दै आएको जसपाले आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाई सो विषयमा छलफल शुरू गरेको हो ।
००००
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्  विस्तार भएको छ । मुख्यमन्त्री लीला गिरीले आइतबार  जनता समादवादी पार्टी जसपालाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
नेकपा एमालेका एक मन्त्रीलाई बिनाविभागीय बनाएर गिरीले जसपालाई सरकारमा सहभागी गराएका हुन्  ।
००००
नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दशौँ बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धनमा महत्वपूर्ण निर्णय गरेको छ ।    
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालका सचिव दिनेशकुमार घिमिरे र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव आलोक कुमारको सहअध्यक्षतामा शनिबार भारतको राजस्थानस्थित माउन्ट आबुमा सम्पन्न बैठकले अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको छ । यो महत्वपूर्ण उपलब्धि हो ।
००००
नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी कैलाली कारागारबाट आइतबार विहान रिहा भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरीलाई स्वागत गर्न सो दलका अध्यक्ष रञ्जिता चौधरीसहित नेता कार्यकर्ता स्वागत गर्न कैलाली कारागार गएका थिए ।
००००
७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । सोही अनुसार आइतबार सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको हो । आइतबार विभिन्न कार्यक्रम गरी देशभर नै प्रजातन्त्र दिवस मनाइन्छ ।
००००
आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्की नागरिक पक्राउ परेका छन्।  २९ वर्षीय हिदिल कायन सारिकमरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्