अफगानिस्तानमा तालिबान सत्तामा फर्केयता पाकिस्तानसँगको विवाद लगातार बढिरहेको छ ।
तालिबानबाट प्रेरित तहरीक–ए–तालिबान अर्थात् पाकिस्तानी तालिबानले राज्यविरुद्ध लगातार आतंकवादी आक्रमण गरिरहेको छ ।
अहिले आर्थिक संकटमा परेको पाकिस्तानलाई थप घात पुग्ने गरी तालिबानले अफगान–पाकको तोर्खम सीमा बन्द गरिदिएको छ । यो दुई देशबीचको प्रमुख व्यापारिक सीमा हो ।
पाकिस्तानले वाचा पूरा नगरिरहेको भन्दै तालिबानले सीमा बन्द गरेको हो ।
पाकिस्तानी पत्रिका डनको समाचारअनुसार, तोर्खमका आयुक्त मौलवी मोहम्मद सिद्दीकीले नानगरहार प्रान्तमा रहेको सीमा चौकीबाट ओहोरदोहोर नगर्न अफगानहरूलाई सल्लाह दिएका छन् ।
पाकिस्तानले कुन वाचा पूरा गरेन भनी सिद्दीकीले खुलाएनन् । तर पाकिस्तानमा उपचार गर्न जानबाट अफगानहरूलाई प्रतिबन्ध लगाइएको भन्दै तालिबान रिसाएको बताइएको छ ।
सीमा चौकी बन्द गर्दा पाकिस्तानलाई ठूलै झड्का लागेको छ किनकि यही बाटोबाट उसले मध्य एसियाका देशहरूमा व्यापार गर्ने गरेको छ ।