
देशको विभिन्न स्थानमा शनिबार सवारी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका –४ खैरानामा से.१ क ४४१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–६ लालपुर बस्ने ६५ वर्षीया बाचु बटै आलेको शनिबार मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै, प्यूठानको माण्डवी गाउँपालिका –५ आपचौरमा लु.२१ प ६२१९ नम्बरको मोटरसाइकल बाटो खन्दैगरेको ना.१ क ३४१६ नम्बरको जेसीबीमा ठोक्किएर शनिबार दुर्घटना हुँदा मोटरसाइकल चालक ऐरावती गाउँपालिका–२ हरियाटारी बस्ने ५४ वर्षीय गोपाल थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्यूठानमा उपचारको क्रममा मृत्युभएको हो । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जना महिलालाई जिल्ला अस्पताल बिजुवार प्यूठान हुँदै थप उपचारको लागि बुटवलतर्फ पठाइएको प्रहरीको भनाइ छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच, बाँकेको जानकी गाउँपालिका –३ मानपुरमा जेएच ०२ एक्यू ११३८ नम्बरको भारतीय ट्रकले भे.१२ प ११३८ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्ती सोनारी गाउँपालिका–८ बस्ने २८ वर्षीया आरती योगीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
त्यस्तै, मकवानपुरको हेटौडा उपमहानगरपालिका –१ भैंसेस्थित सडकमा ना.४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका –६ चौघडा बस्ने ५० वर्षीय कृष्ण सापकोटाको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।