सी चिनपिङ लगातार तेस्रोपटक चीनको राष्ट्रपति निर्वाचित भएका छन् ।
शुक्रवार उनले अभूतपूर्व रूपमा आफ्नो तेस्रो कार्यकालको आरम्भ गरे । चीनको इतिहासमा पहिलोपटक कुनै एक व्यक्ति तेस्रोपटक राष्ट्रपति बनेको हो ।
सन् २०१३ मा सी पहिलोपटक राष्ट्रपति बनेका थिए । अनि सन् २०१८ मा उनलाई दोस्रोपटक राष्ट्रपति निर्वाचित गरिएको थियो ।
अहिले चलिरहेको संसद् सत्रमा नेसनल पिपुल्स कंग्रेसका प्रतिनिधिहरूले औपचारिक रूपमा सीलाई राष्ट्रपतिका साथै सेन्ट्रल मिलिटरी कमिसनका अध्यक्षमा निर्वाचित गरेका हुन् ।
अक्टोबर २०२२ मा भएको चीनको कम्युनिस्ट पार्टीको २०औं नेसनल कंग्रेसमा सीले आफ्नो पार्टीमा नियन्त्रण बलियो बनाएका थिए । त्यसक्रममा उनले पार्टीका उच्च पदहरूमा आफ्ना बफादारलाई नियुक्त गरेका थिए ।
उनका एक बफादार ली छ्याङलाई प्रधानमन्त्री नियुक्त गर्न लागिएको छ ।
सोमवार संसदीय बैठकको समाप्तिपछि सीले सम्बोधन गर्नेछन् । त्यसपछि प्रधानमन्त्रीको सम्भाषण हुनेछ ।
सीको कद चिनियाँ कम्युनिस्ट पार्टीभित्र द्रुत गतिमा बढिरहेको छ । कम्युनिस्ट पार्टीको सामान्य कार्यकर्ताबाट राजनीति शुरू गरेका सी अहिले संसारको महाशक्ति मुलुक चीनको तेस्रोपटक राष्ट्रपति बनेका हुन् ।
जनगणतन्त्र चीनका संस्थापक माओ चतोङपछिकै शक्तिशाली नेताका रूपमा सीको उदय भएको हो ।