
काठमाडौंको आरआर कलेजमा विद्यार्थी संगठनबीच भएको झडपमा खुकुरी हानाहानसमेत भएको छ। झडपपछि प्रदर्शनीमार्ग क्षेत्रमा यातायात आजजाउमा रोकसमेत लगाइएको छ।
एकीकृत नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थीले नेकपा एमालेनिकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेका एमालेनिकट विद्यार्थीहरूले आरोप लगाएका छन्।
क्याम्पस प्रशासनले विद्यार्थी संगठनको दबाब र प्रभावमा निर्वाचन निर्देशिकाविपरीत विद्यार्थी भर्ना गरेको विषयले उग्र रूप लिएको हो।
विद्यार्थी संगठनले क्याम्पस प्रशासनले मतदाता नामावली प्रकाशनअघि फर्जी विद्यार्थी भर्ना गरेको आरोप लगाएपछि विवाद बढेको थियो।
मतदाता नामवली प्रकाशनअघि नै फर्जी विद्यार्थीको विषयमा छानबिन गर्न समिति बनेको थियो । उक्त समितिको प्रतिवेदन सार्वजनिक नगरी मतदाता कायम गरेर निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै नेविसंघ, अखिल क्रान्तिकारी लगायत सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका छन् ।
शनिबार देशभरका क्याम्पसमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।
त्यसका लागि काठमाडौं उपत्यका २२ आंगिक क्याम्पसमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
आरआर क्याम्पसमा भने शनिबार झडप भएपछि क्याम्पस प्रशासनले मनोनयन दर्ताका लागि आइतबारसम्मको समय थपेको छ ।
यसैबीच नेपाली कांग्रेसनिकट नेविसंघका एक नेताले भने झडप सामान्य मात्र भएको दाबी गरेका छन्। उनका अनुसार दुई अनेरास्ववियुका विद्यार्थीबीच खुकुरी हानाहान भएको भनिएको घटना गलत भएको बताए। खुकुरी लिएर दुई पक्षका विद्यार्थी निस्किए पनि ठूलो घटना हुन नपाएको उनले जानकारी दिए।