
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आरिफ शेख र गुल्सन झाको ब्याटिङको सहयोगमा नेपालले सुखद् नतिजा निकाल्न सफल भएको बताएका छन् ।
लिग–२ को अन्तिम खेलमा युएईबिरुद्ध डिएलएस पद्धतिमा ९ रनको जित निकालेपछिको पत्रकार सम्मेलनमा कप्तान पौडेलले शुरुवात खराब भएपनि आरिफ र गुल्सनको साझेदारी इनिङको सहयोगमा जित सम्भव भएको बताएका हुन् ।
यस्तै प्रशिक्षक मोन्टी देशाईले ५० ओभरमा ३ सय ११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको बताए । यही लक्ष्यका साथ खेल्दा आजको खेलमा जित निकाल्न सफल भएको प्रतिक्रिया दिए । खेल अवधिमा विपक्षी टोली केही रणनीति अपनाए पनि अनुशासित ब्याटिङ गर्दा नतिजा पोल्टामा परेको देशाई बताए । नेपालले प्राप्त गरेको सफलता पछि भावुक समेत देखिएका देशाईले समर्थकलाई धन्यवाद दिए ।
उनले सो क्रममा अहिले भएको टोलीमा धेरै खेलाडीमा अद्भुत क्षमता भएको र भविष्यमा उनीहरुले नेपाली क्रिकेटको लागि राम्रो गर्नसक्ने बताए । लिग–२ को अन्तिम खेलमा नेपालले भ्रमणकारी युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भएको हो ।