
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका छन् ।
‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौं भन्नुहुने प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?’, उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् ।
उनले चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउन प्रचण्डसँग माग गरेका छन् ।
जुन कुरा सम्भव रहेको उल्लेख गर्दै लिङ्देनले अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू नथुनिने बताएका छन् । मंगलबार राजधानीमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने एक युवालाई बोल्न नदिनका लागि प्रहरीले मुख थुनेको तस्बिर भाइरल भएको छ ।