
थाइल्यान्डको पटायामा एक पर्यटक बन्जी जम्प गर्ने क्रममा फोहर पानीमा जाकिएका छन् ।
बन्जीको डोरी चुँडिएपछि हङकङबाट आएका माइक नामक पर्यटक पानीमा चोबलिएका हुन् ।
पछि उनलाई उद्धार गरिएको थियो ।
उनको शरीरको देब्रे भाग, छाती र फोक्सोमा चोटपटक लागेको छ । उनलाई नजिकैको अस्पताल लगिएको थियो ।
बन्जी गराउने कम्पनीले उनलाई बन्जीको पैसा फिर्ता दिएको थियो भने अस्पतालको इमर्जेन्सीको खर्च बेहोरेको थियो । अरू सबै खर्च उनी आफैंले उठाउनुपरेको थियो ।
माइक लगभग १०० फीट डाइभ गरेपछि डोरी चुँडिएको थियो । अनि उनी फुक्का भई कैयौं फीट पानीमुनि खसेका थिए । त्यहाँ उनी बेहोश भएका थिए ।
पानीभित्रै होश आएपछि उनी पौडेर सतहमा आएका थिए । त्यसपछि कर्मचारीहरूले उनलाई पानीबाट बाहिर निकालेका थिए ।
अस्पतालमा चिकित्सकहरूले उनलाई पेनकिलर खान दिएका थिए । उनलाई गम्भीर चोटपटक नलागेको बताइएको छ ।
फोहर पानीमा लडेर त्यो निल्दा उनको फोक्सोमा चोट लागेको थियो ।