
यही शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म हो, ‘बहाव’ । प्रमोद कंडेलको लेखन एवं निर्देशन रहेको फिल्ममा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल शीर्ष भूमिकामा छन् । छोरी र बुवाको भूमिकामा उनीहरू प्रस्तुत छन् ।
यो फिल्मको छायाँकन गर्नुअघि कमलमणि र सुरक्षाले डेढ महिना एउटै घरमा बाबुछोरी भएर बिताएका थिए ।
‘मेथड एक्टिङ’मा जाने निर्णय गर्दै निर्माण टिमले कलाकारहरूलाई डेढ महिना एउटै घरमा परिवारका सदस्य बनाएर राखेका थिए ।
कलाकारहरूलाई ‘हामी फेमिली मेम्बर हौँ’ भन्ने अनुभूत गराउन त्यसो गरिएको थियो । चितवनस्थित एक घरमा सुरक्षा र उनको बुवाको भूमिकामा प्रस्तुत कमलमणिसँगै ईश्वरी सिंह, अफरान अली र सूर्य शर्मा भट्टले डेढ महिना बिताएका थिए । ‘हामी पारिवारिक सदस्य हौं’ भन्ने अनूभूति भएपछि मात्रै फिल्मको छायांकन सुरु गरिएको निर्देशक प्रमोद कंंडेलले खुलाए ।
अभिनेत्री सुरक्षाले डेढ महिना एउटै घरमा बस्दा अभिनेता कमलमणिलाई बुवा भन्न थालेको स्मरण गरिन् ।
मंगलवार संञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन् ‘सुटिङ सुरु गर्नुभन्दा अगाडि बुवा भन्न थालिसकेको थिएँ । ममी भन्न थालिसकेको थिएँ । अफरानलाई भाइ भन्न थालिसकेको थिएँ ।’
अभिनेत्री सुरक्षाले निर्माण टिमले ‘मेथर्ड एक्टिङमा जाँदैछौं’ भन्दा त्यसबेला आफू एकदमै उत्साहित भएको समेत सुनाइन् ।
‘कथा सुनेपछि के हो तपाईको कन्सेप्ट भनेर सोध्दा मेथर्ड एक्टिङको कन्सेप्टमा जाँदैछौं भन्नुभयो । एउटै घरमा हामी एक महिना बस्छौँ होला, हामीले जो–जो पात्रहरू छानेका छौं तपाईंहरु सबै एकैठाउँमा बसेर परिवार भएर काम गर्नुपर्छ भन्नुभयो’ उनले भनिन् – ‘त्यसपछि म झन कन्भिन्स भएँ । किनकी एउटा कलाकारका लागि त्यो एकदमै राम्रो कुरा थियो ।’
उनी अभिनयका विभिन्न स्टाइलमध्ये मेथर्ड एक्टिङले मनोविज्ञानसम्म पुर्याउनलाई एकदमै सहयोग गर्ने बताउँछिन् ।
‘बहाव’ एउटा परिवारभित्रको कथा हो । फिल्ममा कमलमणि र सुरक्षाको बाउछोरीबीचको वैचारिक अन्तरद्धन्द्धलाई पेस गरिएको निर्माण पक्षले जनाएको छ ।
अभिनेत्री सुरक्षा फिल्मलाई वैचारिक मनोरञ्जनको कथाका रुपमा प्रस्ट्याउँछिन् । ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ थिममा आधारित यो फिल्मका निर्माता श्रीधर पौडेल हुन् ।