१० साउन २०८३, आइतबार

सुक्न थाल्यो ठमेलको व्यापार

सुक्न थाल्यो ठमेलको व्यापार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको संख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन । 

नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार हुन नसकेको व्यवसायीले बताएका छन् ।

नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी ठमेल आउने गरेका पाइएको छ । ठमेलस्थित सातघुम्तीमा विगत २२ वर्षदेखि ट्रेकिङ जान प्रयोग गरिने सामान बिक्री गर्दै आएका पून्यराम लागेजु ठमेल क्षेत्रमा पर्यटक बढे पनि व्यापार बढ्न नसकेको बताउँछन् ।

'कोरोना महामारी अगाडिको तुलनामा अहिले २० प्रतिशत मात्र व्यापार भएको छ', उनी भन्छन्। 

कोरोना महामारीअघि लागेजुले दैनिक ५० हजारदेखि ६० हजार रुपैयाँको व्यापार गर्ने गरेको बताए। अहिले दैनिक ८ हजारदेखि १० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको उनको भनाइ छ। २२ वषर्को आफ्नो व्यापारको अनुभव सुनाउँदै लागेजुले भने, 'अहिले सबैभन्दा थोरै व्यापार भएको छ ।'  

यस्तै, ठमेलमै लामो समयदेखि कपडा व्यापार गर्दै आएका सीताराम रेग्मी पहिलेको तुलनामा अहिले व्यापार÷व्यवसाय घटेको बताए। ठमेलका गल्लीमा प्रशस्त मात्रामा पर्यटक देखिए पनि व्यापार न्यून भएको उनी बताउँछन्। 'कहिलेकाँही त बिक्री नै हुँदैन',  रेग्मी भन्छन्। 

खर्च धेरै गर्ने पर्यटक नआएका कारण व्यापार घटेको उनको भनाइ छ । रेग्मी सामान किन्ने र खर्च गर्ने पर्यटक नआएका कारण व्यापार व्यवसाय धरापमा परेको सुनाउँछन्।

ठमेलमा १४ वर्षदेखि ह्याण्डिक्राप्टको व्यापार/व्यवसाय गर्दै आएकी नेपाल ह्याण्डिक्राप्ट कलेक्सनकी सञ्चालक मीनाकुमारी बाँस्तोला पछिल्लो समय व्यापार एकदमै घटेको बताउँछिन्। 'पहिलाजस्तो व्यापार छैन, पहिला पर्यटक पसलमा आउने सामान हेर्ने गर्दथे, मन परे किनेर लैजाने गर्दथे, अहिले पसलभित्र पर्यटक छिर्न मान्दैनन्', बाँस्तोला भन्छिन्। 

उनले उलन, पश्मिना, फेल्टलगायत सामान बिक्री वितरण गर्दै आएकी छन्।

ठमेलमा व्यापार व्यवसाय नहुँदा घरबेटीलाई भाडा तिर्नसमेत समस्या पर्दै गएको व्यवसायी बताउँछन् । ठमेल क्षेत्रका व्यापारीले व्यवसाय नभएको गुनासो गरिरहँदा ठमेलका होटलमा भने पर्यटकको संख्या बढेको होटल व्यवसायी बताउँछन् । ठमेलमा काठमाडौँ इको होटल सञ्चालन गर्दै आएका विमल (सहदेव) धमला पछिल्लो समय ठमेलमा पर्यटकको संख्या बढेको बताउँछन्। 

'मैले सञ्चालन गरेको होटलमा अहिले दैनिक ७० देखि ८० कोठा भरिएका छन्, यो तुलनात्मक रूपमा राम्रो हो', उनी भन्छन्।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्षसमेत रहेका धमला पर्यटक छोटो समयका लागि बस्न आउँदा ठमेल क्षेत्रको व्यापार व्यवसाय भने घटेको बताउँछन्। ठमेलमा एक/दुई रात आएर बस्ने पर्यटकका भरमा व्यापार व्यवसाय केन्द्रित रहेको उनले सुनाए। ठमेलमा सञ्चालित चारतारे होटल ‘रमदा’का महाप्रबन्धक महेश फुयाँल आफ्नो होटलका कोठा अहिले दैनिक ९० प्रतिशतसम्म भरिन थालेको बताउँछन्। अहिले पर्यटकीय समय भएकाले पनि  होटलमा पर्यटकको संख्या बढेको उनको भनाइ छ। 

नेपालमा पर्यटक आवागमनको संख्या बढेसँगै हवाई क्षेत्रमा पनि उत्साह थपिएको छ । पछिल्लो समय हवाई मार्ग हुँदै सगरमाथा आधारक्षेत्र सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्लालगायत क्षेत्रमा जाने पर्यटक बढेका छन् । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरमार्फत घुम्न जाने पर्यटकको संख्या बढेको यती एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौला बताउँछन्।

'तारा एयरलाइन्स र यती एयरलाइन्सको माउण्टेन फ्लाइटमार्फत घुम्न जाने पर्यटकको संख्या बढेको छ', उनले भने। 

salt training

कमेन्ट गर्नुहोस्