
नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालका उत्तरी सीमामा रहेका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमवारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले नेपालका उत्तरी सीमानामा रहेका दार्चुलाको तिंकर, ताप्लेजुङको ओलाङचुङ्गोला लगायतका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराए ।
विगत ४ वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन समेत प्रभावित भएको भन्दै उनले नाका खोल्न कूटनीतिक पहल गर्न सरकारसँग माग गरे । नाका खुलेमा देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उनको भनाइ छ ।
उनले भने, ‘नेपाल सरकारले यसलाई गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ र उच्च प्राथमिकताका साथ, महत्त्वका साथ, गम्भीरतापूर्वक नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, छिटोभन्दा छिटो कूटनीतिक पहल होस् र यी नाकाहरू सञ्चालनमा आउन् । ताकि हाम्रो अवरुद्ध व्यापार फेरि सञ्चालनमा आओस् । केही अंशमा भए पनि हाम्रो अर्थतन्त्र निर्माणमा यसले योगदान दिन सक्छ र रोजगारी सिर्जनामा नयाँ अवसर सिर्जना हुनसक्छ ।’
उत्तरी नाका खोलाउने विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनले बताए ।