२६ जेठ २०८३, मंगलबार
उपनिर्वाचन विशेष

चितवन– २ को उपचुनाव : मतदातामा छैन खास उत्साह, त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावना

चैत २८, २०७९
चितवन– २ को उपचुनाव : मतदातामा छैन खास उत्साह, त्रिपक्षीय प्रतिस्पर्धाको सम्भावना

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा अहिले उपचुनावको माहोल जोडतोडले तातेको छ ।

राजनीतिक दलका कार्यकर्ताहरू आ–आफ्ना उम्मेदवारको प्रचारप्रसारमा व्यस्त छन् । नेताहरू आफूले गर्ने काम र विगतमा गरेका कामबारे बताउन व्यस्त छन् ।

उम्मेदवारहरू एकले अर्कालाई कटाक्ष पनि गरिरहेका छन् । चितवन क्षेत्र नम्बर २ को चुनावी मैदानमा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुख्य प्रतिस्पर्धामा छन् ।

राजनीतिक दल र उम्मेदवारहरूलाई चुनाव जोडतोडले लागे पनि मतदातामा उत्साह भने खासै पाइँदैन । चितवन– २ अन्तर्गत पर्ने कालिका नगरपालिकामा पुगेर मतदाताहरूसँग कुराकानी गर्दा अधिकांशले राजनीतिक दल र नेताहरूप्रति गुनासो पोखे ।

कालिका नगरपालिकाका स्थानीय

कालिका नगरपालिका– ६ नयाँ टोलका ८७ वर्षीय बालानन्द बजगाईंले अहिलेका नेताहरूले आफ्नो झोली भर्ने काम मात्र गरेको गुनासो गरे ।

‘जो आए पनि उस्तै हो, सबै आफ्नो झोला भर्न, आफ्नो तीन पुस्तासम्मलाई कमाउन मात्रै लागे, तर जनताको दुःख बुझ्न कोही आएको देखिएको छैन,’ बालानन्दले लोकान्तरसँग भने, ‘अहिलेका नेताहरू काम गर्छु त भन्छन्, तर के गर्छन् थाहा छैन ।’

बालानन्द बजगाईं

विगतमा विकास निर्माणका केही काम भए पनि अहिले नेताहरूले सत्तामा मात्र हारालुछ गरिरहेको उनको बुझाइ छ ।

सोही ठाउँका ८० वर्षीय जीतनारायण खनाल पुराना दलहरूप्रतिको असन्तुष्टिकै कारण जनताले नयाँलाई रोजेको बताउँछन् । नयाँलाई पनि काम गर्न नदिएको उनको आरोप छ ।

‘पुराना नेताहरू आफूले काम गर्न सकेनन्, नयाँलाई पनि गर्न दिएनन्,’ खनालले भने ।

जीतनारायण खनाल

कांग्रेस–एमालेसहितका पुराना दलहरू स्थानीय स्तरमा चिनिएका युवा उम्मेदवार अगाडि सारेर आक्रामक प्रचारप्रसारमा छन् ।

मंसिर ४ मा आफ्नै कार्यकर्ताले समेत मत नदिँदा हार्नुपरेको निष्कर्ष नेपाली कांग्रेस कालिका नगर कमिटी सचिव फणिन्द्र लामिछानेले सुनाए ।

‘यो ठाउँमा हामी ४७० क्रियाशील सदस्य हौं, तर भोट भने ४४० मात्र आयो । ३० भोट कहाँ गयो त ? आफ्नै सक्रिय सदस्य त भ्रमको भेलमा पर्नुभयो भने जनताहरू नपर्ने त कुरै भएन,’ मंसिर ४ को चुनावी विश्लेषण गर्दै उनले भने ।

स्थानीय मतदाता

जनताले जिताएर पठाएको व्यक्तिकै कमजोरीका कारण पुनः चुनाव गर्नुपर्ने स्थिति आएको उनको तर्क छ ।

‘तपाईं आफैं भन्नुस् त, उहाँ (रवि)को नागरिकताको आरोप त पुष्टि भएको हो नि, उहाँले होइन भन्न त पाउनुहुन्न होला । देश नै कमजोर आर्थिक अवस्थामा रहेका बेला उहाँकै कारण फेरि चुनाव गर्नुपरेको छ ।’

विमला श्रेष्ठ

कांग्रेसकी कार्यकर्ता विमला श्रेष्ठले एउटा व्यक्तिका कारण जनताले दुःख पाउनुपरेको तर्क गर्दै आगामी दिनमा त्यस्तो अवस्था नआउने गरी मतदान गर्न आफूहरूले भनिरहेको बताइन् ।

‘हामीलाई त यहाँको माटो बुझेको, हरेक दुःखसुखमा, मर्दापर्दा साथ दिने नेता चाहिएको हो नि, बाहिरबाट आएका नेताहरूले यहाँको समस्याबारेमा कहिल्यै बुझेनन्,’ श्रेष्ठले लोकान्तरसँगको कुराकानीमा भनिन् । 

कालिका नगरपालिका– ४ का केही स्थानीयले हिजो ठूलो मतान्तरले जितेर गएका व्यक्तिलाई काम गर्न नदिएको गुनासो गरे ।

नयाँटोलकी ७८ वर्षीया रंगकुमारी रेग्मीले बुढाखाडा नेताहरूले नयाँलाई काम गर्न नदिएको तर्क गरिन् । 

रंगकुमारी रेग्मी

‘यी बुढाखाडाले काम गर्न दिएनन्,’ उनले भनिन्, ‘युवालाई जिताएको हो । हुन त अहिले अरू पनि युवा नै आएका छन् भन्छन् ।’

५५ वर्षीय कुमार आलेले अब जुन दलले जिते पनि युवाहरू देश हाँक्ने ठाउँमा पुग्नुपर्ने बताए । 

‘देश बनाउन नयाँ पुस्ता, युवा पुस्ता आउनुपर्ने देखियो । पुरानाले अहिलेसम्म केही गरेका छैनन् । हिजो भएका विकास निर्माणका कामहरू पनि भत्काएका छन्,’ आलेले लोकान्तरसँग गुनासो गरे ।

कुमार आले

३६ वर्षीया भावना क्षेत्रीले नेताहरू विकास निर्माणका लागि भन्दा पनि भोट मात्रै माग्न आउने गरेकाले दुःख लागेको बताइन् । 

‘यहाँको अवस्था के छ भन्नु भन्दा पनि भोट माग्न मात्रै आउँछन्, त्यसले गर्दा निकै दुःख लाग्छ,’ क्षेत्रीले भनिन् । 

भावना क्षेत्री

आफूहरूको आवश्यकताबारे ध्यान दिने नेता चाहिएको उनले बताइन् ।

‘हामी किसानलाई चाहिने त मल हो, बिउबिजन हो, त्यसको राम्रो प्रबन्ध गर्न सक्ने नेता चाहिएको हो,’ क्षेत्रीले थपिन् ।

कालिका नगरपालिकास्थित भटेनीका ८० वर्षीय शिवनाथ पौडेलले नेताहरूबारे कुरा गर्दा एउटा विम्ब प्रयोग गरे ।

शिवनाथ पौडेल

‘पुरानो जुत्तामा पोलिस लगाएजस्ता भए नेता । यसो गर्छौं, उसो गर्छौं भन्दै आउँछन्, तर गर्ने केही होइनन्,’ उनले निराशा व्यक्त गरे ।

मंसिर ४ मा यस क्षेत्रबाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि उपनिर्वाचन हुन लागेको हो ।

अघिल्लोपटक भारी मतान्तरले चुनाव जितेका लामिछाने आफैं चुनावी मैदानमा छन् । ठूला दलहरूले आफ्नो मत संरक्षणमा विशेष ध्यान दिँदा रविलाई पनि चुनौती बढ्दै गएको देखिन्छ ।

एमाले उम्मेदवार न्यौपाने

स्थानीय मतदाताहरू यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने अवस्था आउन सक्ने अनुमान गर्छन् । ठूला दलले स्थानीय स्तरमा भिजेका युवा नेताहरूलाई उतारेकाले प्रतिस्पर्धा रोचक हुने देखिएको हो ।

सोही चुनौती बुझेका लामिछाने पनि जोडतोडले प्रचार प्रसारमा छन् । 

पढ्नुहोस्, यो पनि :


 

salt training

कमेन्ट गर्नुहोस्