
एनएमबी बैंकले दशौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार एनएमबी भवन, एनएमबी बैंक, बबरमहलबाट शुरू भई पाटन दरबार स्क्वायरसम्म पुगी कार्यक्रम सम्पन्न भएको हो ।
समृद्ध नेपालको अपार सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रूपान्तरणका लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले समारोह आयोजना गरिएको बैंकले जनाएको छ ।
एनएमबी बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाइटीको सहकार्यमा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरू, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरू, नेपाल हस्तकला महासंघका सदस्यहरू, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरू तथा सर्वसाधारणहरू गरी लगभग ६०० जनाको सहभागितामा एनएमबी भवन, बबरमहल, काठमाडौंदेखि प्ले कार्डसहित पाटन संग्रहालयसम्म पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रमको प्रमुख अतिथिका रूपमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन उपस्थित थिए ।
उक्त कार्यक्रममा एनएमबी बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाइटीलाई रु ४, ९०,००० सहयोगका साथै पाटन संग्रहालयलाई डस्टबिनहरू समेत हस्तान्तरण गरेको छ ।
सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४, ५, ६ र ७ मा समेत गरिएको छ ।
बैंकले प्रदेश १ मा ब्रम्हानन्द पुलदेखि बराहक्षेत्र मन्दिरसम्म, मधेश प्रदेशमा लाहान शाखादेखि दुर्गा मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखि केदारेश्वर मन्दिर, लुम्बिनी प्रदेशमा ट्राफिक चोक शाखादेखि कालिका मन्दिरसम्म र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सुर्खेत शाखादेखि काँक्रेबिहार मन्दिर, धनगढी शाखादेखि शिवपुरी धाम मन्दिर र महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले स्वागत मन्तव्य दिएका थिए ।
नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष श्रीमती अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य धर्म शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा संरक्षणको महत्त्वबारे प्रकाश पार्दै वक्तव्य दिएका थिए भने एनएमबी बैंकका सञ्चालक समिति सदस्य उत्तम भ्लोनले धन्यवाद व्यक्त गरेका थिए ।
एनएमबी बैंक विगत २७ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लन्डनको 'द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो ।
एनएमबी बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान 'बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबी बैंकले हाल देशभरि २०१ शाखाहरू, १३८ एटीएमहरू, १२ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।