काठमाडौं, १६ भदौ– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्ना पूर्वसहयात्री एवम् नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कलियुगका कृष्णको संज्ञा दिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डविरुद्ध कडा टिप्पणी गर्दै डा. भट्टराईले कलियुगकका कृष्णको संज्ञा दिएका हुन् ।
बिहीराति ११ बजेर ४५ मिनेटमा ट्वीट गर्दै नेता भट्टराईले प्रचण्डले एनसेल, चिनियाँ कम्पनी गेजुवा र आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले नियन्त्रणमा लिएर छुटेका चूडामणि शर्मासँग कमिसन लिएको आरोप समेत लगाएका छन् ।
‘चुनावको वेला मधेससंग लभ ! सत्ताको निम्ति बाह्य शक्तिकेन्द्रसँग लभ ! कमिसनका निम्ति एनसेल–गेजुवा–चुडामणिसंग लभ ! कलियुगका कृष्णको लीला अपरम्पार छ !’ नेता भट्टराईले एक समाचार सेयर गर्दै ट्वीटरमा भनेका छन् ।
‘मतदाता रिझाउने क्रममा दाहाल रौतहटमा’ शीर्षकको समाचार शेयर (रि–ट्वीट) गर्दै भट्टराईले प्रचण्डविरुद्ध यस्तो आरोप लगाएका हुन् ।