काठमाडौँ, १७ भदौ – नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् ।

अध्यक्षका प्रत्यासी अनिल शर्मा (गौतम) लाई झिनो मत अन्तरले हराउँदै तामाङ अध्यक्षमा विजयी भएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा पहिलो पटक निर्वाचनमार्फत नेतृत्व चयन भएको हो ।
निर्वाचन समितिले केहिबेरमा औपचारिक मतपरिणाम सार्वजनिक गर्दैछ । क्रान्तिकारीका एक नेताका अनुसार खुल्ला उपाध्यक्षमा सुरेन्द्र वस्नेत, तिलक भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् । सुरेन्द्रले सर्वाधिक भोट ल्याएका छन् ।
जनजाति उपाध्यक्षमा दिपेश पुन र महिला उपाध्यक्षमा पन्चा सिंह विजयी भएका छन् भने महासचिवमा उत्तम अधिकारी विजयी भएका छन् ।
यस्तै उपमहासचिव तुकमान महरा र जीपी मैनालीनिर्वाचित हुँदा आशा तमु यसअघि नै महिला कोटाबाट निर्विरोध उपमहासचिव निर्वाचित भएकी थिइन् ।
खुला सचिवमा डीबी साउद र नरेश रेग्मी, महिला सचिवमा गंगा दाहाल र कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् । क्रान्तिकारीको २१ औं सम्मेलन भदौ ७ देखि सुरु भएको थियो भने आज चुनावको नतिजा आएको हो ।
यसैबीच पराजित अध्यक्षका उम्मेदवार शर्माले सामाजिक सञ्जालमार्फत रञ्जितलाई बधाई दिएका छन् ।