
कांग्रेस सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको प्रारम्भिक मत परिणामतर्फ संकेत गर्दै जनताले ठूला दलप्रति चासो नदेखाएको बताएका छन् ।
संसदीय दलको बैठकमा देउवाले ठूला दलप्रति नागरिकको भरोसा नदेखिएको भन्दै पार्टीलाई सुधार्नुको विकल्प नभएको बताएको सांसद रामहरि खतिवडाले जानकारी दिए ।
आगामी वर्षको बजेट कसरी ल्याउने भन्नेबारेमा पनि सांसदहरूसँग देउवाले चासो पनि राखेका थिए ।
‘नेपाली काँग्रेस संसदीय दलले अब केही समयपछि आउने बजेटमा सांसदहरुको धारणा के छ ? भन्नेकुराको बारेमा छलफल गरेको छ । पार्टी सभापतिज्युले अहिले देशको विषम परिस्थिति छ । यसलाई अब कसरी लैजाने ?’ देउवाको भनाइ उद्यृत गर्दै खतिवडाले भने, ‘उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो । अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यक्ता छ, त्यो सँगै काँग्रेसले बजेट ल्याउँदाखेरी जनतालाई सम्बोधन गर्ने खालका कार्यक्रम आउनुपर्छ, साना साना जनतासँग जोडिने खालका कार्यक्रम आउनुपर्छ ।’
बिपी कोइरालाले छोटो समयमा देशको नेतृत्व गर्दा जनतासँग जोडिने कार्यक्रम ल्याएको देउवाले बताएका थिए ।
‘अरु बेला काँग्रेसका अर्थमन्त्री धेरै भए, धेरै कार्यक्रम जनताको पक्षमा आएनन् की भन्ने चिन्ताको विषय धेरै सांसदहरूले उठाउनुभएको छ । तर जनताको विकास निर्माणका अपेक्षा धेरै छन् । यसलाई कसरी सम्बोधन गरेर जाने ? भनेर छलफल भएको छ’ खतिवडाले भने, ‘आज धेरै मान्य सदस्यहरुले बोल्नुभएको छ र सबैले बोल्ने क्रम नसकिएकाले भोलि १० बजे पनि हामी बैठक बसेर छलफल हुनेछ । आगामी बजेटमा जनताका माग र कुरा कसरी सम्बोधन गर्ने, आयोजना पुराना कसरी सक्ने र नयाँ योजना कसरी थप्ने भन्ने बारेमा नै छलफल भयो ।’