२२ असार २०८३, सोमबार

संसदका विशेष र संयुक्त समितिमा भागबन्डा गर्ने प्रमुख तीन दलबीच सहमति

बैशाख ११, २०८०
संसदका विशेष र संयुक्त समितिमा भागबन्डा गर्ने प्रमुख तीन दलबीच सहमति

प्रमुख तीन दल १० वटा विषयगत र २ वटा विशेष समितिमा भागबन्डा गर्न सहमत भएका छन् । 

कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीचको छलफलमा समितिमा भागबन्डा गर्ने र संसदलाई सुचारु गर्ने सहमति भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

‘संयुक्त समिति र विशेष समितिमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूकाे सांसद संख्याको आधारमा भागबन्डा गरेर टुंग्याउने सहमति भएको छ’ पाण्डेले बैठकपछि भने, ‘दुई संयुक्त समिति २ ठूला दल कांग्रेस र एमालेले लिने सहमति भएको छ ।’

मंगलबारदेखि नै विशेष समिति, संयुक्त समिति सबैलाई पूर्णता दिने गरी प्रक्रिया अगाडि बढाउने जानकारी उनले दिए । 

पाण्डेका अनुसार दुई/तीन दिनभित्रै सबै काम सकिनेछन् । 

भागबन्डामा एमालेले राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिको सभापति पाउने बुझिएको छ । संसदीय सुनुवाइ समितिको सभापति कांग्रेसले लिने भएको छ । तर कांग्रेसले पाउने जति सदस्य एमालेले पनि पाउने सहमति भएको छ । 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि सहमतिका आधारमा संसद चलाउन सहमति जुटेको जानकारी दिए । 

‘संसदमा हामी धेरै दलहरू छौं । आ–आफ्ना राजनीतिक विचार छन् । तर सहमतिकाे आधारमा संसद् संचालन गर्नुपर्छ भन्नेमा छौं’ उनले भने, ‘१० वटा विषयगत २ वटा संयुक्त समितिलाई सहमतिमा पूर्णता दिने भन्ने भएको छ । नेतृत्व पनि सहमतिको आधारमा हुनेछ ।’ 

साथै प्रमुख दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई विशेष समिति गठन गरेर टुंग्याउने सहमति भएको जानकारी पनि लेखकले दिए । 

salt training

कमेन्ट गर्नुहोस्