
लुम्बिनी प्रदेशमा संसद् शुरू भएको ४ महिनासम्म पनि संसदीय समिति बनेका छैनन् ।
संसदीय समितिका लागि दलहरूबाट नामावली माग गरेको भए पनि सबै दलले विवरण नबुझाउँदा समितिले पूर्णता नपाएको प्रदेशसभा सचिवालयका प्रवक्ता सम्झना सुवेदीले बताए ।
‘सबै दलबाट विवरण माग गरिएको छ तर सबै दलले विवरण पठाउन सक्नुभएको छैन,’ उनले भने, ‘त्यसले गर्दा पनि समितिहरूले पूर्णता पाउन सकेका छैनन् ।’
समितिले पूर्णता पाएमा संसद् अझ प्रभावकारी हुन्छ । संसद् र सरकार चुस्त तरिकाले चल्ने भए पनि अझै पनि संसदीय समिति बन्न नसकेको प्रवक्ता उनले बताए ।
‘कतिपय विधेयक समितिमा पठाउनुपर्ने हुन्छ,’ उनले भने, ‘तर समिति नबन्दा अहिले त्यसो हुनसकेको छैन ।’
समिति निर्माणको प्रक्रिया भने अघि बढिसकेको उनको भनाइ छ । प्रदेशको पहिलो अधिवेशन गत पुस १८ गतेमा भएको थियो । प्रदेश सभाको गत माघ ३ गते बसेको तेस्रो बैठकले सभामुख र उपसभामुख निर्वाचित गरेको थियो ।
सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँणलाई निर्वाचित गरिएको थियो ।
गत माघ ५ गते भएको चौथो बैठकबाट मुख्यमन्त्री लीला गिरीले माओवादी केन्द्रसहित ५७ प्रदेशसभा सदस्यको समर्थनमा विश्वासको मत पाएका थिए ।