३० असार २०८३, मंगलबार

मह उत्पादन गरेर वार्षिक ३५ लाख आम्दानी

बैशाख २३, २०८०
मह उत्पादन गरेर वार्षिक ३५ लाख आम्दानी
प्रतिकात्मक तस्वीर

घर वरिपरि मौरीका घारैघार । घर अघि ठूलो सुन्तलाको बगैंचा । बिहानै उठेदेखि साँझ नपरुञ्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।

परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौं रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तिमिल्सिनाले देखाएका छन् । २ दशकदेखि व्यावसायिक मौरीपालन व्यवसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक ३५ लाख रुपैयाँसम्म कमाएको बताउँछन् ।

उनको घरमा अहिले सय मौरीका घार छन् । मौसममा यसको संख्या थपिन्छ । 

एपि सेरेना जातको मौरी पालेका तिमिल्सिनाले यो व्यवसायबाट गतिलो कमाइ गर्न सफल भएको बताए । शुरूमा चिसोले ५० प्रतिशत घाटा व्यहोरेका तिमिल्सिनाले पछिल्ला वर्ष सोचे जतिनै आम्दानी हुने गरेको बताए । उनले वर्षमा २ पटक मह निकाल्छन् । विक्रम संवत् २०५७ सालबाट व्यावसायिक माहुरीपालन थालेका तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो ।

तिमिल्सिना भन्छन्, ‘मह घरबाटै बिक्री हुन्छ । गुणस्तरीय भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पुर्‍याउन सकिरहेको छैन ।’ उनले मह मात्र होइन, मौरीको घार र गोला समेत बिक्री गर्छन् ।
      
उनले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने बताए । उनी भन्छन्, ‘कुश्माबजार, बागलुङ, काठमाडौं, पोखरा र बुटबल लगायतका क्षेत्रबाट व्यवसायी घरमै आएर लैजान्छन् ।’

विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिए । उनले वर्षमा ३०० घारसम्म बिक्री गर्छन् । मौरी सहितका घार प्रतिगोटा ९ हजार र मह प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री हुन्छ । विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोत तिमिल्सिनाको फार्म बनेको छ ।

उनले १ सिजनामा ७ क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्