जम्मु कश्मीरको राजौरीमा शुक्रवार भएको आतंकवादी आक्रमणमा भारतीय सेनाका पाँच जवान शहीद भएका छन् ।
ती सैनिकमध्ये प्याराकमान्डोका राइफलम्यान सिद्धान्त क्षेत्री पनि थिए । दुई महिनाअघि मात्र विवाह गरेका क्षेत्री भारतका लागि शहीद भएका हुन् ।
उनका दाइ ओमप्रकाश क्षेत्री पनि भारतीय सेनमा थिए । ओमप्रकाशका अनुसार, सिद्धान्तलाई सानैदेखि सेनामा जान रहर लाग्थ्यो ।
सिद्धान्त दार्जीलिङको बिजनबाडी क्षेत्रमा बस्थे । उनका दाइ ओमप्रकाश हालै मात्र सेनाबाट सेवानिवृत्त भएका हुन् ।
दुई महिनाअघि विवाह गरेर उनी कश्मीर पुगेका थिए । त्यहाँ पुगेको १५ दिनमा उनी शहीद भए ।
जम्मा २४ वर्षको उमेरमा उनी शहीद भएका छन् । उनकी पत्नीको उमेर २२ वर्ष छ । पतिको मृत्युको खबर पाएपछि पत्नी बारम्बार बेहोश भइरहेकी छन् ।
सिद्धान्तको पार्थिव शरीर जम्मुबाट वायुुसेनाको विशेष विमानमा बागडोगरा विमानस्थल पुगेको थियो । त्यहाँबाट सडकमार्ग हुँदै शरीरलाई बंगडूबी आर्मी बेस लगिएको थियो । त्यहाँ उनलाई पूर्ण सैनय सम्मान दिइयो ।
त्यहाँबाट पार्थिव शरीरलाई बिजनबाडीस्थित किजोमबस्तीमा रहेको घर लगिएको थियो । आइतवार उनको अन्त्येष्टि गरिनेछ ।