
नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत सगरमाथा, ल्होत्से, बरुन्चे, अन्नपूर्णलगायतका हिमाल सफाई गरेको छ । ३ वटा समूहमा परिचालित टोलीले वैशाख २४ गतेसम्म सगरमाथा र ल्होत्सेबाट ७ हजार ६ सय ३२, बरुन्चेबाट १८ हजार ५ सय २०, अन्नपूर्णबाट ३ हजार २ सय ५० गरेर जम्मा २९ हजार ४ सय २ केजी फोहोर संकलन गरेको छ ।
अभियानमा संलग्न जनशक्तिलाई हौसला प्रदानका साथै हालसम्म भइरहेको कार्य प्रगतिबारे जानकारी लिन बलाध्यक्ष रथी सीताराम खड्काले वैशाख २३ गते अन्नपूर्ण आधार शिविरको भ्रमण गरेको सेनाले जनाएको छ । सेनाका अनुसार भ्रमणमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको समेत सहभागिता रहेको थियो ।
अन्नपूर्ण हिमाल सफाइ कार्यक्रमलाई पोखरा महानगरपालिकाले पनि सहयोग पुर्याएको छ । बलाध्यक्षको भ्रमणमा पश्चिम पृतनापति उपरथी दिपककुमार बानियाँ र अभियानका निर्देशक सहायक रथी सुन्दरकुमार पाण्डे पनि सहभागी थिए ।
अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीका सदस्यहरू सह–सेनानी सुमन पाण्डे, प्यूठ मानसिंह चौधरी, सिपाही नवराज राना र सिपाही ज्ञानेन्द्र डाँगीले वैशाख ४ गते ०८ः५५ मा उक्त हिमालको सफल आरोहण समेत गरेका सेनाले जनाएको छ ।
यस्तै, २०७९ चैत १४ गते प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यमा अभियानबाट करिब ३५ टन अर्थात् ३५ हजार किलो फोहोर संलकन गर्ने लक्ष्य लिएको थियो ।
विश्व वातावरण दिवसमा समापन हुने यस अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालहरूमा थुप्रिएको फोहोर हटाउन केही सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
