३१ असार २०८३, बुधबार

शरणार्थी प्रकरण ‘मिलाउन’ प्रमुख तीन दलका शीर्ष नेताहरू बैठक बसिरहेको रास्वपाको आशंका

शरणार्थी प्रकरण ‘मिलाउन’ प्रमुख तीन दलका शीर्ष नेताहरू बैठक बसिरहेको रास्वपाको आशंका
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरू बसेर नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ । आइतवार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले तीन दलका शीर्ष नेताहरू बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्ट्याउने प्रयास गर्नु नहुने निस्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

उनका अनुसार संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउन तीन दलको बैठक बस्नु नहुने पनि स्पष्ट पारे । उनले आफ्नो पार्टी राजनीतिक लेनदेनमा नबस्ने भन्दै संसद् प्रभावकारी बनाउनुपर्ने बताए । 

भ्रष्टाचारमा अहिले भइरहेको छानबिनको विषयलाई पार्टीले समर्थन गर्ने तर यतिमा मात्रै खुसी हुने अवस्था नरहेको उनको भनाइ छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणलाई तलमाथि हुन नदिन आफ्नो पार्टी लापिरेको उनले बताए । ‘उहाँहरू बस्न पाउनुहुन्छ । तर तीन दलका शीर्ष नेताहरू बसेर संसद्‍लाई बन्दी बनाउन पाइँदैन । संसद्‍बाट हुनुपर्ने काम कारवाही र निर्णय संसद्‍बाटै हुनुपर्छ,' उनले भने 'तर तीन दल कुनै न कुनै हिसाबले भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन्, बाहिर आएको कुरा छ, त्यो घटना मिलाउन तीन दल बस्नु भएन । भ्रष्टाचारका मुद्दालाई मिलेमतोमा कमजोर बनाउन पाइँदैन ।’ 

प्रमुख सचेतक परियारले लोकतन्त्रलाई बलियो बनाउने र प्रभावकारी बनाउने हो भने सबै राजनीतिक पार्टीहरूलाई हैसियत अनुसारको समितिको नेतृत्व दिनुपर्ने स्पष्ट पारे । 

salt training

कमेन्ट गर्नुहोस्