
नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा पहिलोपटक रोजगार मेला आयोजना गरेको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कामको खोजीमा रहेका यूवाहरूलाई मेलाले कामको अवसर जुटाइदिने बताएका छन् ।
मेलाले नयाँ अवसरहरूको खोजी गर्न सघाउनुका साथै आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उनको भनाइ छ । ‘रोजगार मेला हाम्रो पहिलो प्रयास हो । यसलाई सफल पार्न यहाँहरू सबैको उत्तिकै सहयोग र मेहनतको अपेक्षा हामीले गरेका छौं,’ उनले भने, ‘महासंघले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आइएलओको सहयोगमा यो कार्यक्रम आयोजना गर्न पाएकोमा हामीलाई निकै खुशी लागेको छ ।’
निजी क्षेत्र मुलुकको अर्थतन्त्रको एक अभिन्न अंग भएको बताउँदै उनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदानका विषयमा महासंघले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर केही दिन अघिमात्रै महत्वपूर्ण प्रतिवेदन सार्वजनिक गरेको जानकारी दिए ।
‘हामीले निजी क्षेत्रको सम्मानको विषय शुरुदेखि नै उठाइरहेका छौ,’ उनले भने, ‘निजी क्षेत्र किन सम्मानित हुनुपर्छ भन्ने कुरालाई उक्त प्रतिवेदनले पुष्टि गरेको छ ।’ साथै अध्ययन प्रतिवेदनले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत भन्दा बढी रहेको देखाएको जानकारी दिँदै उनले ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको बताए ।
केही वर्ष यता विभिन्न कारण निजी क्षेत्रले सहजरुपमा काम गर्न नपाउँदा उद्योग व्यवसाय विस्तार हुन नसक्नुका साथै भएका उद्योग व्यवसाय पूर्णरुपमा संचालन हुन नसकेको उनले बताए ।
महासंघले आयोजना गरेको मेलाले जनशक्तिको अवस्था, उद्योग प्रतिष्ठानहरूले खोजेको जनशक्ति र जनशक्ति विकासमा गर्नुपर्ने तयारीलगायतका विषयमा आगामी योजना तथा कार्यक्रम बनाउनसमेत थप सहयोग पुगेकाे ढकालले बताए ।