२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने एमालेको नीति, कोशी प्रदेशमा ढल्दै सरकार

जेठ २४, २०८०
काठमाडौं
सत्ता गठबन्धनलाई अप्ठ्यारोमा पार्ने एमालेको नीति, कोशी प्रदेशमा ढल्दै सरकार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी विरुद्धको रिटमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाऊ आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश दिएको हो । 

टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा सर्वोच्चबाट आदेश भएको छ ।
००००
केन्द्रदेखि प्रदेशका सत्ताबाट हात धुनुपरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अहिले विपक्षी मोर्चालाई थप बलियो बनाउन खोजेको सन्देश दिएको छ । तर, उसको शैली व्यावहारिक र रचनात्मकभन्दा आक्रामक खालको बढी छ जसले संसद्लाई विधि, प्रक्रिया, मर्यादामा चलाउन दिएको छैन ।
अझ सभामुख देवराज घिमिरे आफ्नै पार्टीबाट भएको फाइदा उठाउँदै एमालेले सत्तारुढ गठबन्धनलाई थप दबाब र अप्ठ्यारोमा पार्ने नीति लिएको देखिन्छ । प्रतिनिधिसभाका पछिल्ला बैठकमा एमालेका प्रस्तुति र अग्रसरताले यी विषयलाई प्रष्टै देखाएका छन् ।

अघिल्लो दिनको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयकलाई लिएर हंगामा गरेको एमालेले मंगलबार फेरि बजेटमा करको दायरा हेरफेर भएको भनिएको विषयमा लफडा निकाल्यो । 

तर, अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट बनाउने क्रममा इमान्दारिताभन्दा बाहिर गएर करका दर हेरफेर नगरेको प्रष्टीकरण दिएपछि एमाले शान्त भयो । 

अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि आफूले इमान्दार भएर काम गरेको महतको प्रष्टीकरण थियो ।  उनले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढंगबाट काम गरेको दाबी गरे । उनले अर्थ मन्त्रालयका कर्मचारीकै रूपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताए ।
००००
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक आगामी वर्षको बजेट सच्याउन सरकारसँग आग्रह गरेका छन् । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाइ छ ।

मंगलवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारूढ दलहरूले बजेटमा कमा र पूर्णबिराम पनि सच्याउन नचाहे परिणामले अहंकारलाई झारिदिने चेतावनी दिए ।
००००
नक्कली शरणार्थी प्रकरणमा जारी थुनछेक बहसका क्रममा मंगलवार नयाँ विषयले प्रवेश पायो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा एक वकिलले सोही अदालतको पुरानो नजिर पेश गर्दै यसमा मुछिएका अन्य पात्रलाई पक्राउ गर्नुपर्ने माग गरे ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार डा अजय क्रान्ति शाक्य, उनका स्वकीय सचिव राजेश बज्राचार्य, नेपाली कांग्रेसकी सांसद आरजु देउवा, मञ्जु खाँण, तत्कालीन गृहसचिव महेश्वर न्यौपाने, बिचौलिया बेचन झासहितलाई पक्राउ गरी छानबिन गर्न थुनछेक बहसकै क्रममा आदेश गर्न सकिने उनको तर्क थियो ।
००००
नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।  मंगलवार बिहान बसेको माओवादी प्रदेश कमिटिका पदाधिकारी र संसदीय दलका नेता इन्द्र आङवोसहितको बैठकले सरकालाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।
समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको कोशी प्रदेशका सह इन्चार्ज सावित्रिकुमार काफ्लेले जानकारी दिए ।
००००
कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएपछि हिक्मतकुमार कार्की सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारीमा थालेको छ । 
माओवादी सरकारबाट फिर्ता भएसँगै अल्पमतमा परेको सरकारले बुधवार संसद्मा नीति तथा कार्यक्रम पेस गर्ने  तयारी गरेको थियो ।
००००
यस सिजनमै डेब्यु गरेको चर्च ब्वाइजले एक चरणको खेल बाँकी छँदै शहीद स्मारक लिग ए डिभिजनको उपाधि जितेको छ । 
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलवार भएको खेलमा चर्च ब्वाइजले थ्रीस्टारसँग गोलरहित बराबरी खेल्दै शहीद स्मारक लिग ए डिभिजनको उपाधि जितेको हो ।
००००
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।  प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
००००
काठमाडौं महानगरपालिकाले नियमानुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ । महानगरले सोमवार नियमानुसार छात्रवृत्ति उपलब्ध नगराउने ३४२ वटा विद्यालयको सूची प्रकाशित गरेको हो ।
००००
नेप्से परिसूचक २५ दशमलव ६६ अङ्कले बढेको छ ।
आजको कारोबारमा नेप्से परिसूचक एक दशमलव ३५ प्रतिशतले बढेर एक हजार नौ सय २७ दशमलव ६५ अङ्कमा पुगेको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्