२४ जेठ २०८३, आइतबार

स्वास्थ्यखबर हेल्थ अवार्डको ११औं संस्करण हुँदै, दिगो विकासका लक्ष्य प्राप्तिकामा केन्द्रित

जेठ २६, २०८०
काठमाडौं
स्वास्थ्यखबर हेल्थ अवार्डको ११औं संस्करण हुँदै, दिगो विकासका लक्ष्य प्राप्तिकामा केन्द्रित

स्वास्थ्यखबर हेल्थ अवार्डको एघारौं संस्करण ‘दिगो विकासका लक्ष्यहरूः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहने भएको छ ।

भदौ तेस्रो साता हुने हेल्थ अवार्डमार्फत नेपालले दिगो विकासका लक्ष्यहरूको सन्दर्भमा विश्व समुदायसँग गरेको प्रतिबद्धता प्राप्तिका लागि भविष्यका कार्यक्रमहरूमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन सरोकारवालाहरूलाई पुनःस्मरण गर्ने मौका जुराउने विश्वास राखिएको छ ।

‘यस वर्षको अवार्डको मूल विषय दिगो विकासका लक्ष्यहरू प्राप्तिमा मिडियासहित सबै क्षेत्रको सहभागिता चाहिन्छ भन्ने तथ्यको गहिरो बोध पनि हो,’ स्वास्थ्य खबरपत्रिकाका प्रकाशक अनिल न्यौपानेले भने ।

दिगो विकास लक्ष्यहरू सन् २०१५ मा संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रबाट अनुमोदन भई सन् २०३० सम्ममा हासिल गर्ने गरी विश्वव्यापी रुपमा जारी गरिएको थियो ।

‘हामी सबैलाई अवगत भएकै तथ्य हो, प्रभावकारी स्वास्थ्य प्रवद्र्धनविना दिगो विकासका लक्ष्यहरू प्राप्त हुन सक्दैनन्,’ उनले भने, ‘यो सन्दर्भमा स्वास्थ्य क्षेत्र सुधार र विभेदरहित स्वास्थ्य प्रवर्द्धनमा राष्ट्रिय तहका सरोकारवालाहरूको ऐक्यबद्धता र प्रतिबद्धताविना दिगो विकासको लक्ष्यको मूल मर्म बोध गर्न कठिन छ ।’

यो अवार्डमार्फत आफूले नीतिगत तहमा काम गर्ने र स्वास्थ्य सेवा प्रवाहको दौरानमा अग्र भागमा रहेका काम गर्ने सबैले नेपाली जनताको स्वास्थ्य र आरोग्यतामा पुर्‍याएको विशिष्ट सेवाको पहिचान र सम्मान गर्न चाहेको पनि न्यौपानेले बताए ।

दिगो विकासका लक्ष्यहरूको तेस्रो बुँदामा स्वस्थ जीवन र सबैको आरोग्यता प्रवर्द्धनको विषय समेटिएको छ । यस लक्ष्यमा मातृ स्वास्थ्य, नवजात शिशु, किशोर–किशोरी स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरू, सर्वव्यापी स्वास्थ्य पहुँच र गुणस्तर तथा सुलभ स्वास्थ्यमा सबैको पहुँच लगायतका महत्वपूर्ण विषयहरू समेटिएका छन् ।

‘दिगो विकासका लक्ष्यहरूमा समेटिएको स्वास्थ्य क्षेत्रको गन्तव्य तथा सूचकहरू कार्यान्वयनमा आएको खण्डमा नेपालका लाखौं व्यक्ति लाभान्वित हुनेछन्,’ न्यौपानेले भने, ‘त्यसैले अब हामीले ढिलाइ नगरी यी लक्ष्यहरूको कार्यान्वयनमा सबै क्षेत्रबाट योगदान गर्नुपर्ने समय आएको छ ।’

स्वास्थ्यखबर हेल्थ अवार्ड स्वास्थ्य सेवामा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मानस्वरुप वार्षिक रुपमा प्रदान गरिँदै आएको छ । अवार्डको लागि नामावली संकलन, छनोट र अन्तिम निर्णयको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेतको सहयोगमा स्वास्थ्य क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सम्मिलित निर्णायक समितिमार्फत गरिन्छ । यस अवार्ड नेपालका सरकारी तथा सामुदायिक संस्थाहरूमार्फत वा स्वयंसेवी रुपमा सेवा पुर्‍याउनेहरूलाई दिइन्छ । नाफामूलक संस्थाहरूलाई अवार्डको दायरामा समेटिएको छैन ।

‘अवार्डमार्फत नेपालमा स्वास्थ्य सेवामा सेवा प्रवाह गरिरहनुभएका स्वाथ्यकर्मी तथा नीति–निर्माताहरूलाई थप प्रोत्साहित गर्ने कार्यमा नेपाल सरकार, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरू तथा अन्तर्राष्ट्रिय समुदायको समेत साथ र स्वामित्व रहनेछ भन्ने विश्वास लिएको छु,’ अनिल न्यौपाने भने ।

salt training

कमेन्ट गर्नुहोस्