
विक्रम संवत् २०५३ सालमा धागो उद्योग स्थापना गरेर औद्योगिक जीवनको पाइला शुरू गरेका उनीहरू आज हाईलाइफ ब्राण्डबाट देश–विदेशमा परिचित छन् ।
व्यवसायको शुरूआत बुवा यज्ञप्रसाद घिमिरेले गरेका थिए । बुवा यज्ञका पाइला पछ्याउँदै उद्योग करिअर शुरू गरेका तुल्सी घिमिरे अहिले सफल उद्यमी मात्र होइन, उत्कृष्ट उद्यमी बनेका छन् । रूपन्देहीको तिलोत्तमास्थित मणिग्राममा बुवाको किराना तथा भाडाको व्यापारलाई साथ दिएका छोरा तुल्सीले पढाइकै क्रममा काठमाडौंमा कपडाको व्यापार शुरू गरेका थिए ।
५/६ वर्ष काठमाडौंमा भारतबाट कपडा ल्याएर बिजनेश गरेका तुल्सीले व्यापारभन्दा उद्योग गर्ने सोच बनाए । केही वर्ष काठमाडौंमा धागो उद्योग सञ्चालन गरेपछि त्यहीँ उद्योगलाई उनले रूपन्देही झारे । उद्योग दर्ता गर्ने क्रममा जाँदा घरेलु तथा साना उद्योग कार्यालयमा लेखिएको एउटा कोटेसनले आफूहरूलाई राम्रो उत्प्रेरित गरेको तुल्सी बताउँछन् ।
कार्यालयको भित्तामा लेखिएको थियो – पैसा कमाउन व्यापार गर, नाम कमाउन समाज सेवा गर, दुवै कमाउन उद्योग गर ।’ पहिलोपटक उद्योगमा हात हालेका तुल्सी र नगेन्द्र दाजुभाइको धागो उद्योग (एभरेस्ट थ्रेड इन्डस्ट्रिज) राम्रै चलेको थियो । २५–३० जनाले प्रत्यक्ष रोजगारी पनि पाएका थिए । आम्दामी पनि राम्रो थियो तर उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने बाध्यता थियो ।
विक्रम संवत् २०५८ सालसम्म चलेका धागो उद्योगले सबै प्रकारमा धागोहरू उत्पादन गरी बजारमा पठाउने गर्थ्यो । घिमिरे दाजुभाइले नेपालमै प्राप्त हुने कच्चा पदार्थमा आधारित उद्योग के हुनसक्छ भन्ने कुराको चिन्तन शुरू गरे । नेपाली र कृषिमा आधारित कच्चा पदार्थ पनि प्राप्त हुने र नयाँ पुस्ताले पनि मन पराउने ‘कर्न फ्लेक्स’ उत्पादन गर्ने निर्णय गरे ।
विक्रम संवत् २०५८ सालमा शुरू भएको नेपाल एभरेस्ट फूड एण्ड स्न्याक्स प्रालि उद्योग नेपालमै दोस्रो थियो । एभरेस्ट फूड उत्पादन शुरू गरेपछि पंकज ज्ञवाली (सानीमाको छोरा) पनि उद्योगमा जोडिए । कर्न फलेक्स उत्पादन त शुरु गरे तर कर्न फ्लेक्स नेपालमा लोकप्रिय भइसकेको थिएन । धेरैलाई यसबारे जानकारी समेत थिएन ।
घिमिरेले भने, ‘जसका कारण सोचेजस्तो बिक्री हुन सकेन । बिस्तारै बजार विस्तार हुँदै गयो । हाम्रो ठूलो मेहनतले अहिले भने राम्रो भएको छ ।’ बिस्तारै त्यहीँ उद्योगबाट वेसन तथा कच्चा कर्न फ्लेक्स पनि उत्पादन थालियो । उद्योग विस्तारकै क्रममा घिमिरे दाजुभाइले श्री महालक्ष्मी म्याच (सलाई), शिवशक्ति प्रिन्ट एण्ड प्याक, राइजिङ सन एग्रो उद्योग स्थापना गरे । यी सबै उद्योग स्थानीय कच्चा पदार्थमा आधारित छन् । यद्यपि महालक्ष्मी म्याच उद्योग अहिले घिमिरेसँग छैन । उद्योगमा अहिले दोस्रो पुस्ता प्रवेश गरेको छ ।
उद्योगमा छोराहरू प्रशान्त र सुशान्तको प्रवेशले परम्परागत रूपमा सञ्चालनमा रहेका उद्योगलाई व्यवस्थित गर्ने, उत्पादित वस्तुलाई अझै गुणात्मक बनाई ब्राण्डिङ गर्ने र विदेश निर्यात समेत भएका छन् । उद्योगबाट कर्न फ्लेक्स, वेसन, कुरूम कुरूम चिउरा, सोयाबिन, ओट्स, मुसली, चोकोज, स्न्याक्स, सस्, आटा, तेल लगायतका खाद्य सामग्री उत्पादन हुन्छ । आयातका क्रममा नीतिगत स्तरमै केही समस्या भोग्नुपरेको पनि घिमिरे बताउँछन् ।
नेपालमा नै मकै किन्दा सस्तो पर्ने र बाहिरबाट मकै किन्दा मूल्य बढी पर्ने गरेको उनले बताए ।
हाईलाइफको उत्पादन अहिले नेपालभित्रका ठूला शहरहरूदेखि गाउँगाउँसम्म पुगिसकेको छ । तुल्सीका अनुसार देशभर झण्डै २०० वितरकहरूमार्फत हाइलाइफको उत्पादन १ लाखभन्दा बढी खुद्रा व्यापारीहरूसम्म पुग्छ । यसका साथै अन्तर्राष्ट्रिय बजारमा पनि यसको माग बढ्दो छ । उद्योग सञ्चालनका क्रममा धेरै साथ र सहयोग प्राप्त भएको घिमिरे सुनाउँछन् । काका डा. लक्ष्मणप्रसाद घिमिरे र भाइ बाशुदेव भुसालको पनि राम्रो सहयोगले आफू अगाडि बढिरहेको घिमिरेको भनाइ छ ।
उद्योग सञ्चालन गर्न त्यति सजिलो भने छैन । बैंक व्याज, सरकारको भन्सार नीति तथा नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने खालको सरकारी नीति नहुँदा विभिन्न अप्ठ्याराहरू आउने गर्छन् ।
‘तयारी वस्तुको आयात र त्यहीँ वस्तु उत्पादनको लागि आयात हुने कच्चा पदार्थको भन्सार शुल्कमा खासै फरक छैन,’ घिमिरेले भने, ‘कच्चा पदार्थको आयात गर्दा भन्सार महशुल दर सहुलियत हुनुपर्छ ।’
नेपालमा आवश्यकता पूर्ति गर्ने वस्तु नेपालमै बनेका छन् भने त्यस्ता वस्तुमा भन्सार वृद्धि गर्नुपर्ने घिमिरको भनाइ छ । अहिले सबै उद्योगलाई मर्ज गरेर एउटै बन्ने प्रक्रियामा छन् । अब घिमिरे दाजुभाइको एउटै उद्योग हाईलाइफ एग्रो फूडस् इन्डस्ट्रिज प्रालि सियारी–१ चिलिया रुपन्देही बन्नेछ ।
प्रालिमा अहिले अम्बिकाप्रसाद पौडेल नेतृत्वको इन्भेस्टमेन्ट टीम प्रवेश गरेको छ । प्रालि पब्लिक लिमिटेडमा जाने प्रक्रियामा रहेको उद्योग नेपालमै नम्बर वान बन्दै गएको सञ्चालक घिमिरेको दाबी छ । उद्योगमा ४०० कामदार कार्यरत छन् ।
आयातमूलक देश नेपालमा उत्पादनमूलक उद्योगलाई राज्यको तर्फबाट कुनै सहयोग गरेको छैन । ‘दक्ष कामदारको अभाव छ,’ तुल्सी भन्छन्, ‘आयातमा राज्यलाई कुनै मतलब छैन । उत्पादनको रेसियोमा आयात कन्ट्रोल गर्न राज्यको नीति नै छैन । यस्ता नीतिले राज्यमा आयात प्रतिस्थापन हुन सक्दैन ।’
हाईलाइफ आईएसओ सटिफाइट उद्योग हो । तुल्सी ३ दशक अगाडिको कुरा सम्झिन्छन्, ‘काठमाडौंमा ४–५ लाख रुपैयाँ लगानीबाट शुरू गरेको लगानी अहिले अर्बमा पुग्न लागेको छ ।’ घिमिरे अरू पनि नयाँ उद्योगहरू खोल्ने क्रममा छन् ।